- जेन-जीको ६ बुँदे मागमा जिल्ला सुरक्षा समितिले सहमति जनाएपछि वार्तामा सहमति भयो ।
What you should know
बारा — बाराको सिमरामा बुधबार भएको जेन-जी र एमाले कार्यकर्ताबीच झडपको घटनापछि उत्पन्न परिस्थितिबारे शुक्रबारको जिल्ला सुरक्षा समिति र जेन-जीबीच ६ बुँदे सहमति भएको छ ।
पथलैयास्थित सशस्त्र प्रहरी प्राविधिक शिक्षालयमा भएको वार्तामा जेन-जीको मागप्रति सहमति जनाउँदै सुरक्षा समितिले माग कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि मौखिक सहमति बनेको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वार्तामा भएका सहमति यथाशक्य चाँडै कार्यान्वयन गर्ने बताए ।
सहमति भएका विषय प्रहरी प्रशासनले सोमबारसम्म (चार दिनभित्र) पूरा गर्ने छाँट देखाएन भने पाँचौं दिन मंगलबारदेखि फेरि आन्दोलन गर्ने जेन-जीले चेतावनीसमेत दिएका छन् ।
वार्तामा जेन-जीले ६ बुँदे नै माग राखेका थिए । जेन-जीको तर्फबाट सुदन गुरूङ, पुरूषोत्तम यादव, शिव यादव र स्थानीय सिमराका जेन-जी सम्राट उपाध्याय, कपिल खरेललगायत वार्तामा सहभागी थिए ।
६ बुँदे मागमा जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङ, इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीको सुरक्षमा कमजोरी भएकोले घटना हुन पुगेको भन्दै उनी दुवैलाई कारबाही हुनुपर्ने, जेन-जीमाथि हातपात गर्ने एमाले कार्यकर्तालाई कडा कारबाही हुनुपर्ने माग राखेका थिए ।
यसैगरी पक्राउ परेका एमाले कार्यकर्ता अरबिन्द साहको टेलिफोनको कल डिटेल जाँच हुनुपर्ने, घाइते जेन-जीलाई राज्यपक्षबाट उपचार र क्षतिपूर्ति मिलाउनु पर्ने, पूरक जाहेरीमार्फत नवराज बस्नेत र विशाल लामाको नाम जाहेरीमा थप हुनुपर्ने र जेन-जीको सुरक्षाको ग्यारेन्टी हुनुपर्नेसहित ६ बुँदे माग राखेका थिए । यी सबै मागमा जिल्ला सुरक्षा समितिले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।
सिमरामा बुधबार एमाले कार्यकर्ता र जेन-जीबीच झडप भएको थियो । झडपको क्रममा ६ जना जेन-जी घाइते भएका थिए । तिनै विषय लिएर जेन-जी विरोध प्रदर्शनमा उत्रिँदै सिमरा विमानस्थलमा तोडफोड, राजमार्गमा आगो बालेर प्रदर्शन र एमालेले बनाएको स्वागतद्धार तोडफोड, झन्डा जलाउने जस्ता कार्य गरेका थिए ।
बुधबार परवानीपुरमा युवा जागरण अभियानसभामा सम्बोधन गर्न एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई लक्षित गरी उनीहरूविरूद्ध सिमरा चोकमा जेन-जीले विरोध प्रदर्शन गर्न थालेपछि एमालेको युवा संघका कार्यकर्ता र जेन-जीबीच झडप भएको थियो । त्यहीं झडपमा जेन-जीका ६ जना युवा घाइते भएका थिए ।
घाइतेहरूको तर्फबाट जेन-जीका जिल्ला संयोजक सम्राट उपाध्यायले नै इलाका प्रहरी कार्यालयमा एमालेका ६ जना कार्यकर्तामाथि किटानी जाहेरी दिएका थिए । सोही अनुसार ३ जना पक्राउ परेका हुन् । उनीहरूमाथि बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । दुई दिनदेखि अशान्त सिमरा शुक्रबारदेखि शान्त छ । कर्फ्यू, झडप, प्रदर्शन, तोडफोड छैन ।
