आजको बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि पदअनुसार आरचण नगरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची राखिएको छ ।
जनकपुरधाम — मधेश प्रदेशसभामा आजको बैठक एमालेका प्रदेशसभा सदस्यहरू बहिष्कार गर्ने भएको छ । आजको बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि पदअनुसार आरचण नगरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची राखिएको छ ।
तर नेकपा एमालेले कुनै पनि असंवैधानिक काम नगरेको जिकिर गर्दै आजको बैठक बहिष्कार गर्न लागेका छन् ।
एमालेका प्रदेशसभा सदस्य सारदादेवी थापाले बैठक बारे जानकारी आएको तर आजको बैठक बहिष्कार गर्ने बताइन् । सभामुखले संविधान र नियामावली अनुसार काम गरे पनि प्रतिपक्षका दलहरूले बखेडा खडा गरेको उनले बताइन् ।
नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महताले पनि आजको बैठकमा नआउने बताए । तर, उनले घरायसी कामका कारण आउन नसक्ने बताए । नेकपा एमालेकै अर्का सांसद राजकुमार लेखीले भने प्रमुख सचेतकले पार्टीले जाने/नजाने विषयमा कुनै जानकारी नगराएको बताए । आजको बैठकमा अनुपस्थित नै रहने उनको आशय थियो ।
तर, अन्तिममा उनले सभामुखले हामीलाई नबोलाएको उनले बताए । र, प्रदेशसभाबाट सूचना पनि नआएको उनले जानकारी दिए । तर, प्रदेशसभाको कर्मचारीले सबै प्रदेशसभा सदस्यलाई एसएमएसमार्फत सूचना गएको बताए ।
