डीजेवाला गाडीबाट बिजुली जोड्ने तयारी
जनकपुर — मधेश प्रदेशसभाका प्रतिपक्षी दलका सांसदहरूले सभामुख रामचन्द्र मण्डलले बिजुली काटेको आरोप लगाएका छन् । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
यतिबेला प्रदेशसभा भवन परिसरमा डीजेवाला गाडीबाट बत्ती जोड्न खोजिएको छ । प्रदेशसभा बैठक अवरुद्ध होस् भनेर सभामुख मण्डलले जानीजानी बिजुली काटेको प्रतिपक्षी सांसदको आरोप छ ।
यसअघि पनि सभामुखमाथि प्रस्ताव लिएर आउँदा लाइन काटिएको थियो । सभामुख आजको बैठकम नहोस् भन्ने पक्षमा छन् भने सात दल प्रस्तावमाथि छलफल गर्नु पर्ने अन्तिम दिन भएको हुनाले बस्ने तयारीमा छन् ।
साथै प्रदेशसभा सचिव नहुँदा बैठक सञ्चालनमै अन्योल देखिएको छ । आज सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ । कांग्रेससहित ७ दलका ६४ जना प्रदेशसभा सदस्यले सभामुख मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गराएका थिए ।
मंगलबार ३२ जना प्रदेशसभा सदस्यले उपसभामुख बबिता राउत ईशरलाई बैठक आह्वान गर्न पत्र बुझाएपछि इशरले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेकी थिइन् ।
हाल कायम रहेको १०४ प्रदेशसभा सदस्यमध्ये ७५ जना प्रदेशसभा सदस्य आइपुगेको कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए ।
