मधेशका सभामुख मण्डल पदमुक्त 

सभामुखको विपक्षमा अर्थात् पदअनुसार आचरण नगरेका पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

मंसिर ३, २०८२

कमलेश ठाकुर

Madhesh Speaker Mandal relieved of his post

जनकपुरधाम — मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा उनीमाथि लगाइएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएको हो ।

सभामुखको विपक्षमा अर्थात् पदअनुसार आचरण नगरेका पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । उनको विपक्षमा भने शून्य मत परेको छ । सभामुख मण्डल भने आज बैठकमा अनुपस्थित रहेका छन् । हाल मधेश प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन् । जसको दुई तिहाई ७२ मत हुन्छ । 

गएको कात्तिक २७ गते उनीमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यले पदअनुसार आरचण नगरेको प्रस्ताव दर्ता गराएका थिए । सभामुखको विपक्षमा कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका रहेका थिए । एमाले, राप्रपाका सांसद र नेपाल संघीय समाजवादीका सांसद पनि आज अनुपस्थित रहेका छन् ।

यसअघि प्रदेशसभा सदस्यको पहिलो कार्यकालमा पनि मण्डलले पद गुमाएका थिए । पहिलो कार्यकालमा उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वाम एकता भएर नेकपा बनेका थिए । त्यसपछि वाम एकता टुक्रिएपछि उनी माओवादीमा नर्फिएर एमालेमा गएको कारण साढे तीन वर्षमा पदमुक्त भएका थिए ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully