लोसपाका सांसद महतोले सभामुखले प्रदेशसभालाई आतंकित गरेर राखेको आरोप लगाए ।
जनकपुरधाम — मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि पदअनुसार आचरण नगरेको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्ताव पेस भएको हो ।
कांग्रेस प्रमुख सचेतक कुमारकान्त झा प्रस्तावक रहेको उक्त प्रस्तावको सर्मथक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतो, जवाहरलाल कुशवाहा, राजकुमार गुप्ता रहेका छन् ।
लोसपाका सांसद महतोले सभामुखले प्रदेशसभालाई आतंकित गरेर राखेको आरोप लगाए । कर्मचारीमाथि कुटपिट गरेको र प्रदेशसभा सदस्यको पनि उनीसँग गुण नरहेको सांसद महतोको आरोप थियो । उनले सभामुखमाथि मुख्यमन्त्रीलाई रोस्ट्रम प्रयोग गर्न नदिएको र कार्यसूचीलाई उछिनेर सांसदलाई बोल्न दिएको आरोप लगाए ।
गत २७ गते सभामुखमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यहरूले प्रस्ताव दर्ता गराएका थिए । त्यस दिन सभामुखसँग प्रदेशसभा सदस्यहरूको विवाद भएको थियो ।
त्यसपछि सभामुख मण्डलले नागरिक उन्मुक्तिकी सांसद उर्मिला देवी सिंह, जसपाका मनिष सुमन, सिंहासन सा कलवार, सञ्जयकुमार यादव र सारदा शंकर प्रसाद कलवारलाई लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै पदमुक्त गरेका थिए ।
