मधेश प्रदेशसभा : सचिव नहुँदा अन्योल

उपसभामुख बबिता राउत इसर प्रदेश प्रमुखलाई अनुरोध गरेर काजमा कर्मचारी पठाएर आजको बैठक सञ्चालन गर्ने रणनीतिमा छन् ।

मंसिर ३, २०८२

कमलेश ठाकुर

Madhesh Provincial Assembly: Confusion over lack of secretary

What you should know

जनकपुरधाम — बुधबार दिउँसो १ बजे मधेश प्रदेशसभा बैठक बस्ने सूचना जारी भएको छ । एमालेबाहेकका प्रदेशसभा सदस्यहरू आउने क्रम जारी छ । तर, बैठक अहिलेसम्म सुरु भएको छैन । प्रदेशसभामा अहिले उपसचिव तह  र सोभन्दा माथिका सबै कर्मचारीहरू अनुपस्थित छन् ।

दुई जना शाखा अधिकृत कार्यालय आएका छन् । उपसभामुख बबिता राउत इसर प्रदेश प्रमुखलाई अनुरोध गरेर काजमा कर्मचारी पठाएर आजको बैठक सञ्चालन गर्ने रणनीतिमा छन् । किनभने सभामुख रामचन्द्र मण्डलमाथि सात दलका ६४ सांसदहरूले पदअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने आज अन्तिम दिन रहेको छ । 

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभामा लाइन काटिएको हुनाले परार्मश समितिको बैठक ढिलो भएको जानकारी दिए । आज उक्त प्रस्तावमाथि छलफल नभए पुनः प्रस्ताव लग्ने उनले बताए । प्रदेशसभा कार्यसञ्चालन नियामावली २०७५ को नियम १८० मा सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावसम्बन्धी व्यवस्था गरिएको छ ।

यस नियामावलीको उपनियम (१) मा तत्काल कायम रहेको एक चौथाइ सदस्यहरूको सर्मथन प्राप्त गरी प्रस्ताव पेस गर्न सक्ने र सचिवलाई प्रस्तावको जानकारी दिइनुपर्ने उल्लेख छ । तर, प्रमुख सचिव बासु प्रसाद कोइराला मंसिर ४ गतेसम्म बिदा लिएका छन् । किनभने सोही नियमको उपनियम (३)मा सात दिनभित्र बैठक बसी प्रस्तावमाथि छलफल गर्नुपर्ने प्रावधान छ । प्रदेशसभा कार्यसञ्चालन नियामावली १८० को उपनियम (२)मा सभामुखविरुद्ध प्रस्ताव भए उपसभामुख समक्ष पेस गरिनुपर्ने उल्लेख छ । 

यता, सभामुख रामचन्द्र मण्डलले भने विधिवत रूपमा कानूनी रुपमा प्रस्ताव दर्ता गराउन आए दर्ता हुने बताए । तर, निवदेक नै विधि मिचेर बल प्रयोग गरेर दर्ता गराउन आएको हुनाले प्रस्ताव दर्ता नभएको बताए । ‘अहिले प्रस्ताव दर्ता भएको छैन् । उप-सभामुखले छुट्टै रजिस्टर कायम गर्नु भएको छ भने मलाई केही भन्नु छैन,’उनले भने,‘तर, त्यो प्रदेशसभाको सम्पत्ति बन्नु पर्‍यो नि ।’ 

कर्मचारीलाई बन्दी बनाएको र फाइल गाइब गरिएको विषय गल्ती भएको उनले प्रस्टीकरण दिए । ‘कर्मचारीलाई बन्दी बनाएको छु वा फाइल गाइब गरेको छु भने कर्मचारीले कम्प्लेन गर्छ नि कि उसको पनि जिम्मा सातै दलले लिने हो,’उनले भने,‘उहाँहरूको काम हो मिडिया ट्रायल गर्ने गर्नदिनुस् । तर, सभामुखमाथि महाअभियोग लागेपछि न आलोचना गर्ने हो ?’

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully