मुख्यमन्त्रीलाई 'काम गर्न देऊ' भन्दै मधेशमा एमालेको धर्ना

एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले ९औं दिन पनि धर्ना जारी राखेका छन् ।

मंसिर २, २०८२

अजित तिवारी

UML holds sit-in in Madhesh, asking the Chief Minister to 'let him do his job'

जनकपुर — मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) लाई काम गर्न दिनुपर्ने मागसहित उनको दल एमालेले  जनकपुरमा मंगलबार धर्ना थालेको छ ।

जनकपुरको जनक मन्दिर परिसरमा एमालेका नेता–कार्यकर्ता धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौं र मुख्यमन्त्री यादवलाई काम गर्न देऊ भन्दै धर्नामा बसेका हुन् । 

सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नरहेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट दिएका थिए ।यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो। सर्वोच्चले मुख्यमन्त्री नियुक्त यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको थियो । 

मधेश प्रदेश सरकार गठनसम्बन्धी विवादमा दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश हकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदै छ ।

यता, ७ दलले मंगलबार ९औं दिन पनि जनकपुरमा धर्नामा जारी राखेका छन् । मधेश प्रदेशमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेशमा आन्दोलन थालेका हुन् ।

नवौँ दिन मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully