मधेश प्रदेशसभाका सभामुखले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि बुधबारको बैठकमा छलफल हुने
What you should know
जनकपुरधाम — मधेश प्रदेशसभा बैठक बुधबार बस्ने भएको छ । उपसभामुख बबिता राउत इसरको निर्देशनपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो १ बजे बैठक बस्ने सूचना प्रकाशन गरेको हो । उक्त बैठकमा सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुने समेत प्रदेशसभा सचिवालयले जनाएको छ ।
लामो समयदेखि अवरुद्ध रहेको मधेस प्रदेशसभा सञ्चालनका लागि मंगलबार विभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसमक्ष माग गरेका थिए ।
विपक्षी दलहरूका तर्फबाट प्रदेशसभा सदस्य भरतप्रसाद साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख राउतलाई मंसिर ३ गते बुधबार प्रदेशसभा बैठक बोलाउनका लागि मागपत्र बुझाएका थिए ।
प्रदेशसभा नियमावलीअनुसार प्रदेशसभा २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको खण्डमा बैठक बोलाउनुपर्ने कानुनी प्रावधान छ ।
मधेस प्रदेशसभामा सभामुख मण्डल विरुद्धमा दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउनका लागि सात दलबाट माग भएको हो ।
गएको कात्तिक २७ गते साँझ सभामुख मण्डलले प्रदेशसभा सदस्यलाई दुर्व्यवहार गरेका थिए । त्यसपछि प्रदेशसभाका कर्मचारी अनुपस्थित हुन थालेका छन् । जसले गर्दा मधेश प्रदेशसभाको सबै कामकाज ठप्प छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा सभामुखमाथि पदअनुसार आचरण नगरेको प्रस्ताव दर्ता गराएको दाबी गर्दै सोही प्रस्तावमाथिको छलफल अगाडि बढाउने विषयमा उपसभामुखसँग छलफल भएको बताए । सभामुखले प्रस्तावमाथि छलफल गर्नुपर्ने वातावरण नबनाएको उनले आरोप लगाए ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले प्रस्ताव दर्ता भएको सात दिनभित्र छलफल भएर कार्यान्वयनमा जानुपर्ने बताए । तर, सभामुखले कर्मचारीलाई बन्दी बनाएको र फाइल गायब गरेको उनले आरोप लगाए ।
उपसभामुख राउतले पनि कर्मचारी अनुपस्थितिले अन्योल सिर्जना भएको बताइन् । सात दलका सांसदहरुले ३२ जना सांसदको हस्ताक्षर दिएर बैठक सञ्चालन गरिदिन अनुरोध गरेकोले कानुनअनुसार बैठक सञ्चालन गर्न सकिने उनले बताइन् ।
सभामुख रामचन्द्र मण्डलले भने विधिवत् रुपमा कानुनी रुपमा प्रस्ताव दर्ता गराउन आए दर्ता हुने बताए । तर, निवेदन नै विधि मिचेर दर्ता गराउन आएकोले प्रस्ताव दर्ता नभएको बताए ।
