मधेश सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव

प्रस्ताव दर्ता गर्न गएका सांसद र सभामुखबीच हात हालाहाल, ५ सांसदलाई प्रदेश सभामुखले गरे पदमुक्त

कार्तिक २८, २०८२

अजित तिवारी

Motion against Madhesh Speaker for unbecoming conduct in office

What you should know

जनकपुर — प्रदेशसभा सञ्चालनमा दलीय स्वार्थ राखेको भन्दै सात दलले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण गरेको प्रस्ताव प्रदेश सचिवालयमा बुझाएका छन् । बिहीबार सात दलका संसदीय दलका नेता प्रमुख सचेतक एवं सांसदहरू प्रदेशसभा सचिवालय पुगेर सभामुख मण्डलविरुद्ध प्रस्ताव बुझाएका हुन् । 

त्यस क्रममा सभामुख मण्डल र सांसदहरूबीच हात हालाहाल भएको छ । मण्डलले सांसदहरूलाई अभद्र व्यवहार गरेको जसपाका प्रमुख सचेतक आशिष यादवले आरोप लगाए । साँझ पौने ५ बजेतिर पुगेका सात दलका सांसदलाई उपसभामुख बबिता राउतको कार्यकक्षमा राखिएको थियो । उपसभामुख राउतले प्रस्ताव तोक लगाए पनि प्रदेशसभा सचिवालयका कर्मचारीहरूले दर्ता गर्न आलटाल गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो । 

कार्यालय समय सकिएको, कर्मचारी नरहेको र विद्युत् आपूर्ति बन्द रहेको भन्दै प्रदेशसभा सचिवालयका कर्मचारीहरूले प्रस्ताव दर्ता गर्न आलटाल गरेका थिए । प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले प्रदेशसभामा विद्युत्को आपूर्ति पनि नियमित नभएकाले दर्ता गर्न ढिलाइ भएको बताएका थिए । 

करिब ६ बजे सभामुख मण्डल आफ्ना केही समर्थकसहित प्रदेशसभा सचिवालयमा प्रवेश गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो । सभामुख मण्डलले जनमतको संसदीय दलका नेता महेश यादव, लोसपाका सांसद उपेन्द्र महतो, जसपाका सांसद राजु साहमाथि हातपात गरेको जनमतका सांसद चन्दन सिंहले आरोप लगाए । मण्डल अन्य सांसदमाथि पनि आक्रामक रूपमा प्रस्तुत भएको माओवादीका संसदीय दलका नेता भरतप्रसाद साहले बताए । प्रदेशसभामा करिब डेढ घण्टा घेराबन्दीमा परेका सांसदहरूलाई प्रहरीले उद्धार गरेको जसपाका सांसद राजु गुप्ताले बताए ।

सभामुख मण्डलले आफूले कुनै पनि सांसदलाई बन्धक नबनाएको बताए । उनले प्रदेशसभा सचिवालयमा आफू आउँदा आफ्नो कार्यकक्षमा कोही पनि सांसद नरहेको र भेटघाटमा पनि नआएको दाबी गरे । ‘न उहाँहरू मेरो कार्यकक्षमा थिए, न म उहाँहरू बसेको कार्यकक्षमा गएँ, अनि कसरी भए बन्धक ?,’ उनले भने । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले प्रदेशसभा सांसदहरूले आफूहरू असहज अवस्थामा रहेको सूचना दिएपछि नेपाल प्रहरीका डीएसपी र सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा सुरक्षाकर्मीहरू पठाएर सांसदहरूलाई बाहिर ल्याएको जानकारी दिए । धनुषा प्रहरीका एसपी रुगम कुँवरले थप प्रहरी परिचालन गरेर सांसदहरूलाई सुरक्षित बाहिर निकालिएको बताए । 

यसबीच, सभामुख मण्डलले नियमित १० वटा बैठकमा उपस्थित नभएका पाँच जना सांसदलाई पदमुक्त भएको सूचना जारी गरेका छन् । जसमा सात दलका सांसदहरू नै छन् । पदमुक्त भएका सांसदहरूमा नागरिक उन्मुक्तिकी उर्मिलादेवी सिंह, जसपा नेपालका मनीषकुमार सुमन, सञ्जयकुमार साह, सिंहासन साह कलवार र शारदाशंकरप्रसाद कलवार छन् ।

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully