अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निष्कर्षमा पुग्नका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।
राजविराज — सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएको भन्दै गाउँकार्यपालिकाको बैठकले स्वीकृत गरेपछि विवादित बनेको विषय अदालत पुगेको छ ।
अध्यक्ष चौधरीले दिँदै नदिएको राजीनामा स्वीकृत गरेर आफूमाथि अन्याय गरेको भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा रिट दायर गर्दै परमादेशयुक्त उत्प्रेषणसमेतको माग गरेका थिए ।
गाउँपालिका कार्यालयलगायतलाई विपक्षी बनाएर दिएको रिटमाथि बिहीबार भएको सुनुवाइमा अदालतका न्यायाधीश सुभाष पौडेलको एकल इजलासले मागबमोजिमको आदेश जारी हुनु नपर्ने आधार, कारण र प्रमाण पेस गर्न विपक्षीको नाममा आदेश भएको छ । बाटाका म्यादबाहेक १५ दिनभित्र आफैं वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश भएको हो ।
त्यस्तै, अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निष्कर्षमा पुग्नका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । छलफल प्रयोगजनका लागि मंसिर १ मा पेसी तोकिएको छ भने विपक्षलाई गाउँकार्यपालिकाको निर्णयलगायत सक्कल प्रमाणसहित छलफलमा उपस्थित हुन आदेश गरिएको अदालतले जनाएको छ ।
असोज ५ मा अध्यक्ष चौधरीले राजीनामा दिएको भन्दै कात्तिक १८ मा बसेको गाउँकार्यपालिकाको बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको थियो भने बैठककै निर्णयअनुसार गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी कार्यवाहक अध्यक्ष बनेकी छन् ।
