सहमतिपछि अग्नीसाईर कृष्णासवरनका कर्मचारीको आन्दोलन स्थगित

बुधबार साँझ गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कल्पना चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले उनीहरुसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको हो ।

कार्तिक २७, २०८२

विद्यानन्द राम

Agnisair Krishnasawaran employees' strike postponed after agreement

राजविराज — चार महिनादेखि तलब नपाउँदा आन्दोलित भएका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच दिनभित्र तलब पाउने सहमतिपछि बिहीबारदेखि आन्दोलन स्थगित गरेका छन् ।

बुधबार साँझ गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कल्पना चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले उनीहरुसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको हो ।

सहमतिअनुसार चार महिनादेखि तलबविहीन रहेका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीलाई क्षतिपूर्ति स्वरुप साउनदेखि पुस (६ महिना)सम्मको तलब दिइने छ । शिक्षकले पनि आन्दोलनले प्रभावित भएका कक्षा अतिरिक्त समयमा सञ्चालन गर्नुपर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । ‘आइतबारसम्म उहाँहरुलाई तलब खुवाइनेछ,’ उनले भने । 

सहमतिपछि उनीहरुले बिहीबारबाट विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय पूर्ववत सञ्चालनमा ल्याएका छन् । जनप्रतिनिधिबीचको द्वन्द्वले गत साउनदेखि तलब नपाएका उनीहरुले अघिल्लो मंगलबारबाट विद्यालय, आकस्मिकबाहेक स्वास्थ्य चौकी र वडा कार्यालयमा सेवा ठप्प गरेर गाउँपालिका कार्यालय अगाडि धर्ना दिइरहेका थिए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully