मधेशमा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

मधेशमा यस बर्ष धानको उत्पादन २० प्रतिशतले घटछ’

कार्तिक २७, २०८२

शंकर आचार्य

Paddy production in Madhesh expected to decrease by 20 percent

पर्सा — खडेरी र बाली भित्र्याउने बेला एक महिनामा २ पटकको बेमौसमी वर्षाले मधेश प्रदेशमा यस वर्ष धान उत्पादनमा करिब २० प्रतिशत कमी आउने अनुमान गरिएको छ ।

कृषि अनुसन्धान निर्देशनालय परावनीपुरमा आयोजना भएको प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा कृषि विकास निर्देशनालय जनकपुरका प्रमुख जितेन्द्र यादवले यस्तो बताएका हुन् । यादवले धानबाली लगाउने बेला मधेशमा देखिएको खडेरीको कारण यसअघि नै धान खेती १३ प्रतिशतले घटेकामा धानबाली भित्र्याउने समयमा २ पटक भएको वर्षाले उत्पादनमै ठूलो असर परेको बताए ।

सामान्य अवस्थामा मधेश प्रदेशमा करिब १३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेकामा यस वर्ष भने करिब १० लाख मेट्रिक टन मात्र उत्पादन हुने अनुमान गरिएको उनको भनाइ छ ।

मधेशका आठ जिल्लामा तीन लाख ७२ हजार ६ सय ४५ हेक्टर खेतीयोग्य जग्गामध्ये यस वर्ष ८७ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।

गोष्ठीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले  मधेश प्रदेश सरकारले कृषि क्षेत्रमा यान्त्रिक प्रविधि गरेर उत्पादकत्व बढाउनेतर्फ अग्रसर रहेको बताए । प्रदेश सरकारका भएका प्रविधिहरुको उच्चतम  प्रयोग गर्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्न लागि रहेको बताउँदै उनले प्राविधिकहरुको दक्षता अभिवृद्धि समग्र कृषि क्षेत्रलाई सुधार्नेतर्फ अग्रसर भइरहेको भनाइ राखे ।

कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशका प्रमुख डा विश्वेरप्रसाद यादवले प्रदेश स्तरमा कार्यरत रहेका कृषि प्राविधिकहरुको क्षमता अभिवृद्धि गरेर कृषिमा लागत घटाउँदै उत्पादकत्व वृद्धि गर्न गोष्ठी आयोजना गरिएको बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully