वडाध्यक्ष रामकिशोर यादवलाई नियन्त्रणमा लिई प्रहरीले अदालतमा पेस गरेको हो ।
सिरहा — सिरहाको कल्याणपुर नगरपालिका-८ अरङमा दलित परिवारको घर तोडफोड गरेको घटनामा वडाध्यक्षलाई प्रहरीले थुनछेकका लागि अदालतमा पेस गरेको छ । वडाध्यक्ष रामकिशोर यादवलाई नियन्त्रणमा लिई प्रहरीले अदालतमा पेस गरेको हो ।
वडाध्यक्ष यादवलाई कानुनबमोजिम नियन्त्रणमा लिई थुनछेकका लागि अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए । अरङमा गत असोज १७ गते दिउँसो स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवान गरी पाँच पासवान परिवारको घरमा विस्थापित हुने गरी ५० जनाभन्दा बढीको समूहले तोडफोड र लुटपाट गरेका थिए ।
यो घटनामा कांग्रेसबाट उक्त वडामा निर्वाचित वडाध्यक्ष यादव, स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मनोज यादव, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत १३ जनाविरुद्ध आपराधिक उपद्रव तथा जातीय छुवाछूतसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय, मिर्चैयामा किटानी जाहेरी दर्ता भएको थियो ।
जसमध्ये वडाध्यक्ष यादवसहित गणेश र कैलाश घटनाको भोलिपल्टै असोज १८ मा पक्राउ परेका थिए भने मनोजलाई प्रहरीले असोज २० मा पक्राउ गरेको थियो । जसमा वडाध्यक्ष मुद्दाको अनुसन्धानकै क्रममै बिरामीको कारण देखाउँदै हाजिरी जमानीमा रिहा भएका थिए भने कैलाश सिंहलाई धरौटीमा छाड्दै अदालतले गणेश र मनोजलाई पुर्पक्षका लागि कारागार पठाइसकेको छ ।
वडाध्यक्ष यादव भने थुनछेकका अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
