चिकित्सकमाथि हातपात र अस्पतालमा तोडफोड गर्नेमाथि मुद्दा

आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गर्दै अस्पताल परिसरमा रहेका डस्टबिनमा आगजनी र प्रयोगशाला तोडफोडसमेत गरेका थिए ।

कार्तिक २५, २०८२

विद्यानन्द राम

Case filed against those who assaulted doctors and vandalized hospitals

What you should know

राजविराज — सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप साहमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा चलाइएको छ ।

आइतबार साँझ नवजात शिशु सघन कक्ष (एनआईसीयू) मा विद्युत् सर्ट भइ एलईडी लाइट खसेर शिशु घाइते भएका थिए ।

आक्रोशित आफन्तले निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. साहमाथि हातपात गर्दै अस्पताल परिसरमा रहेका डस्टबिनमा आगजनी र प्रयोगशाला तोडफोडसमेत गरेका थिए । आगजनी र तोडफोडले केहीबेर अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोली सो कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही ठाउँका २४ वर्षकै विनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र सोही ठाउँका २५ वर्षीय रमन यादवलाई पक्राउ गरेको थियो ।

चारै जनामाथि आपराधिक उपद्रव मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए । निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. साहमाथि हातपात, आगजनी र तोडफोडपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए ।

आइतबार साँझ केहीबेर आकस्मिक सेवा पनि ठप्प पारेका चिकित्सकले सोमबार बहिरंग सेवा (ओपीडी) समेत रोकेका थिए । सहमतिपछि मंगलबारबाट बहिरंग सेवा सञ्चालन गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. साहले बताए । ‘प्रमुख जिल्ला अधिकारीज्युको रोहबरमा भएको छलफलबाट घाइते शिशुलाई अस्पतालले उपचार गराउने तथा हातपात, आगजनी र तोडफोड गर्नेलाई कानुनअनुसार हुने सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइसकेका छौं,’ उनले भने, ‘घाइते भएका शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो भएको छ ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully