मधेश भवन अगाडि युवाहरूको धर्ना

धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न माग

कार्तिक २३, २०८२

कमलेश ठाकुर

Youth protest in front of Madhesh Bhavan

What you should know

जनकपुरधाम —  मधेश प्रदेश सरकारको ‘मधेश भवन’ अगाडि युवाहरूले धर्ना दिएका छन् । आइतबार साँझ मधेश भवनअगाडि युवाहरूले ‘प्ले कार्ड’सहित धर्ना दिएका हुन् । त्यसअघि उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिन पुगेका थिए ।

तर, सुरक्षाकर्मीको अनुरोधमा त्यहाँबाट सरेर मधेश भवनको मुख्य गेटअगाडि धर्ना दिएका छन् ।

मधेश प्रदेशमा संविधानको धारा १६८ को (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने उनीहरूको माग छ । युवाहरूले ‘संविधान मिच्न पाइँदैन, संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर’ भन्ने प्ले कार्ड बोकेका थिए ।

Youth protest in front of Madhesh Bhavanशनिबार विश्वासको मत लिन मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) मधेश प्रदेशसभामा विश्वासको प्रस्ताव पेश गरेका थिए । तर, मत विभाजनमा जानुअघि नै उनले विश्वासको मत लिने वातावरण नभएको भन्दै राजीनामा घोषणा गरेका थिए । त्यसपछि सोनल समर्थित दलहरूले विश्वासको मत नगुमाएको भएकाले पुनः त्यही धारा अनुसार नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने माग गर्दै आएका छन् ।

तर, नेकपा (एमाले) ले भने उक्त धारा असफल भइसकेको भएकाले नयाँ धारा अनुसार ठूलो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने मनसाय बनाएको छ । नेपाली कांग्रेस भने सर्वपक्षीय सरकार बनाउने कसरत गरिरहेको छ ।

सोनल गएको असोज २९ गते ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । तर, सत्तासाझेदार दलकै सांसदले मत नदिने र केही सांसद अनुपस्थित भएपछि सोनल मतदान प्रक्रियामा जानुअघि नै राजीनामा दिएका थिए । त्यसपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले हालसम्म आह्वान गरिसकेका छैनन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले विभिन्न राजनीतिक दल र विज्ञहरूसँग भने परामर्श गरिरहेकी छिन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully