मलंगवा नगरपालिका–६ का ८० वर्षका चन्देश्वर मण्डलले वृद्धभत्ता नपाउँदा औषधि समेत खरिद गर्न नसकेको दुःखेसो पोखे ।
What you should know
सर्लाही — मलंगवा नगरपालिकामा वडाध्यक्षसहित उपप्रमुखले नै ताला लगाएका छन् । नगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज गर्न असहज भएको भन्दै उपप्रमुख शकुन्तला देवीसहित वडाध्यक्षको टोलीले आइतबार तालाबन्दी गरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको सरुवा भएपछि उनको स्थानमा आएका अमनकुमार कर्णलाई नगर प्रमुख नागेन्द्रकुमार रायले उपस्थित नगराउँदा कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालय प्रमुख नहुँदा कार्यालयको खाता सञ्चालन हुन सकेको छैन । जसले भुक्तानीमा समस्या भएको छ । लामो समयसम्म खाता सञ्चालन नहुँदा विद्यालयका शिक्षकदेखि कर्मचारीसमेतले तलब पाउन सकेका छैनन् भने वृद्ववृद्धाहरूले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । तलवभत्ता नपाउँदा शिक्षकहरू पनि आन्दोलित हुँदै आएका छन् ।
यस्तै सदरमुकाम मलंगवामा रहेको श्रीमती कृष्णादेवी माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्तिको विषयमा पनि नगर प्रमुखले अनावश्यक दबाब दिन थालेपछि समस्या उत्पन्न भएको छ । पालिकाबाट तलव नपाएपछि शिक्षकहरू कक्षाकोठामा उपस्थित नहुँदा विद्यार्थी पठन–पाठनबाट वञ्चित भइरहेका छन् । उनीहरूले नगर प्रमुखविरुद्घ नाराबाजीसमेत गर्दै आएका छन् ।
कक्षा १० का विद्यार्थी युवराजप्रसाद साहले विद्यालयमा पठन–पाठन नहुँदा आफूहरू आन्दोलनमा उत्रिनुपरेको जानकारी दिए । उनका अनुसार एसईई आउन केही महिना मात्र बाँकी रहँदा पठन–पाठनको अवरोधले विद्यार्थीहरू मर्कामा परेका छन् ।
यता वृद्ववृद्धाहरू पनि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै गुनासो पोखिरहेका छन् । उनीहरूले पनि पालिकामा धर्ना दिएका थिए । मलंगवा नगरपालिका–६ का ८० वर्षका चन्देश्वर मण्डलले वृद्धभत्ता नपाउँदा औषधि समेत खरिद गर्न नसकेको दुःखेसो पोखे । ‘यस आर्थिक वर्षमा पालिकाले भत्ता दिएकै छैन, जसले औषधि खरिद गर्न सकिएको छैन,’ उनले भने, ‘स्थानीय तहका प्रमुखले हाम्रो पीडा बुझ्न सकिरहेका छैनन् ।’
मलंगवा नगरपालिका–८ का वडाध्यक्ष मुकेश जयसवालले नगरपालिकाको बेथितिका विरुद्घमा सम्पूर्ण जनप्रतिनिधि आन्दोलित बनेको जानकारी दिए । उनका अनुसार नगर प्रमुख एकलौटी रूपमा अगाडि बढेको, दलालमार्फत काम गर्न उत्प्रेरणा दिएको तथा वडाध्यक्ष, उपप्रमुखको कुरा नसुनेको भन्दै कार्यालयको मुख्य गेटमा सर्वसाधारणको उपस्थितिमा ताला लगाइदिएका हुन् । नगर प्रमुख रायले केही दिनमै पालिकाको अवस्था सामान्य हुने जानकारी दिए ।
