जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले संघीयता र संविधान जोगाउन सबै दल एकजुट भएर प्रदेश प्रमुख समक्ष अनुरोध गरेको बताए ।
What you should know
जनकपुरधाम — मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सन्दर्भमा नयाँ मोड आएको छ । आइतबार साँझ नेपाली कांग्रेससहित सात मुख्य दलहरु एक ठाउँमा उभिएका छन् । कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन् ।
अहिले यी दलका नेता तथा प्रतिनिधिहरुले प्रदेश प्रमुख सुमित्रा भण्डारीसँग भेटघाट गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न अनुरोध गरेको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए । उनले संविधान अनुरुप, नजिरहरुको अधारमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख भण्डारी समक्ष अनुरोध गरेको सुनाए । प्रदेश प्रमुखले संविधान अनुसार नै अगाडि बढ्ने आश्वासन दिएको उनको दाबी छ ।
नयाँ गठबन्धन बनाउने विषयमा उनले अहिले कुनै सहमति नभएको जानकारी दिए । तर, प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेलगत्तै गठबन्धन र सरकार बारे छलफल गर्ने उनको भनाइ छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले संघीयता र संविधान जोगाउन सबै दल एकजुट भएर प्रदेश प्रमुख समक्ष अनुरोध गरेका बताए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले अहिले संविधान र संघियता जोगाउन प्रदेश प्रमुखसँग भेटघाट गरेको र बाँकी कुरामा पछि छलफल गर्ने बताए ।
कार्यवाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले पनि संविधानको अधारमा नयाँ सरकार गठन गर्न आह्वान गरेको बताए । त्यस कुरामा प्रदेश प्रमुख साकारात्मक रहेको उनले बताए । तर, नयाँ सरकार गठनको आह्वान हुन केही दिन अझै लाग्ने उनको अनुमान छ ।
कांग्रेसको यु टर्नले नेकपा एमाले बाहेकको गठबन्धन बन्न सम्भावना बढेको छ ।
