आइतबार साँझ कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा प्रदेश प्रमुखलाई भेटेका हुन् ।
जनकपुरधाम — मधेश प्रदेशमा २ दिन नयाँ सरकार गठनको लागि आह्वान नहुने भएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले विज्ञसँग सल्लाह गर्न समय चाहिने भएको भनेकाले थप दुई दिन नयाँ सरकार गठनको प्रक्रिया अगाडि नबढ्ने भएको हो ।
उनले सात दलका नेता तथा प्रतिनिधिसँगको भेटघाटमा सो कुरा बताएकी छिन् । तर, संविधानअनुसार अगाडि बढ्ने उनले आश्वासन दिएको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए । उनका अनुसार संविधान र कानुनविद्सँग परार्मश लिन दुई/तीन दिन चाहिने हुनाले नयाँ सरकार गठनका लागि तत्काल आह्वान नगर्ने बताएकी छिन् ।
सात दलका प्रतिनिधि नै किन प्रदेश प्रमुखलाई भेट्न गएको हो भन्ने प्रश्नमा सचेतक यादवले केही खबर पाएका कारण गएको बताए । 'प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम संसदको सबैभन्दा ठूलो दललाई मुख्यमन्त्री नियुक्त गरेर काठमाडौं जान सक्ने हल्लाको कारण संयुक्त रूपमा भेटघाट गरिएको हो,' उनले भने ।
आइतबार साँझ कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा प्रदेश प्रमुखलाई भेटेका हुन् ।
