छठ अघि सञ्चालित हैजा रोगको महामारीविरुद्धको प्रतिकार्य खोप अभियानले पूर्ण सफलता पाउन नसकेपछि पर्सामा फेरि उक्त अभियान सञ्चालन गरिएको हो ।
What you should know
पर्सा — कात्तिक १३ देखि पर्सामा पुनः सञ्चालन गरिएको हैजा महामारीविरुद्धको प्रतिकार्य अभियानलाई कात्तिक २७ सम्म सञ्चालन गरिने भएको छ । छठ पर्व अघि सञ्चालन गरिएको उक्त अभियानलाई छठपछि पनि निरन्तरता दिइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले थप चार दिन अभियानको मिति बाँकी रहँदा अन्त्य सम्ममा झन्डै शत प्रतिशत सफलता मिल्ने दाबी गरे ।
हालसम्म लक्षित वर्गमध्ये ८७ प्रतिशतले खोप लिइसकेको र बाँकी १३ प्रतिशतलाई पनि चार दिनभित्र खोप दिई लक्ष्यसहित काम गरी रहेको उनले बताए । लक्ष्य भेट्टाउन चुनौती रहेपनि स्वास्थ्यकर्मीहरुको टोली निरन्तर खटिएकाले धेरै हदसम्म सफलता मिल्ने सम्भावना रहेको उनले बताए ।
लक्ष्य भेटाउन अन्य स्थानीय तहमा सहज भएपनि जिल्ला सदरमुकाम वीरगन्ज महानगरमै भने समस्या भइरहेको उनले बताए । ‘अझै पनि वीरगन्ज महानगरका केही व्यक्तिले खोप लिन आनाकानी गरी रहेका छन्,’ उनले भने, ‘हामी सक्दो उनीहरुलाई पनि खोप दिने प्रयासमा लागि परेका छौं ।’ त्यस्ता व्यक्तिको घर घरै पुगेर भएपनि खोप दिने काम भई रहेको उनले बताए ।
छठ अघि सञ्चालित हैजा रोगको महामारीविरुद्धको प्रतिकार्य खोप अभियानले पूर्ण सफलता पाउन नसकेपछि पर्सामा फेरि उक्त अभियान सञ्चालन गरिएको हो । छठ अघि सञ्चालित अभियानले ८४ प्रतिशत मात्र कभरेज पाएको थियो । छठ अघि सञ्चालन गरिएको अभियानको क्रममा कूल ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिने लक्ष्य रहेकामा ५ लाख ४७ हजार ३ सय ११ जनाले मात्र खोप लिएका थिए ।
जिल्लाका १४ वटै स्थानीय तहमा एकैसाथ यो अभियान सञ्चालन गरिएकामा सबैभन्दा बढी जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत र सबैभन्दा कम जिरा भवानी गाउँपालिकामा ७८ प्रतिशत कभरेज भएको थियो ।
छिपहरमाई गाउँपालिकामा ९३, बिन्दवासिनी गाउँपालिकामा ९१, सखुवाप्रसौनी गाउँपालिकामा ८८, ठोरी गाउँपालिकामा ८६, पटेर्वासुगौली र धोबिनी गाउँपालिकामा ८५, पर्सागढी नगरपालिकामा ८४, पोखरिया नगरपालिकामा ८३, वीरगन्ज महानगरपालिकामा ८२ प्रतिशत सफलता मिलेको थियो ।
वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आईसीजीसँग खोपको माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा पर्सा र बारामा यो अभियान सञ्चालन गरिँदैछ ।
इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुन्छ । गत भदौ ६ गतेदेखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
अभियानमा १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको छ ।
हालसम्म वीरगन्ज महानगरमा १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जको विभिन्न अस्पतालमा उपचारार्थ आएकोमा तीमध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यस बाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । परीक्षणहरूबाट वीरगन्जको विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला परेको छैन । हालसम्म वीरगन्जमा फैलिएको हैजाको स्रोत पनि पत्ता लाग्न सकेको छैन ।
