सदा टोलमा हैजाको स्रोत पोखरी र खोलाको पानी, गरिबीको मारमा बस्ती

सदा टोलका बासिन्दाले नुहाउने र भाँडा माझ्न प्रयोग गर्ने पोखरी र भलुवाही खोलाको पानीमा हैजाको जिवाणु भेटिएको हाे ।

कार्तिक २२, २०८२

विद्यानन्द राम

Cholera is always a source of water in the village, ponds and rivers, and the settlement is plagued by poverty.

What you should know

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा उपचार अभावका कारण दुई बालबालिकासहित तीन जनाले झाडापखालाबाट ज्यान गुमाए । बस्तीमा तीन सातादेखि फैलिएकाे पखाला अझै नियन्त्रण हुन सकेकाे छैन् ।

सुरुमा ९ जनाको आरडीटी (र्‍यापिड डायग्नोस्टिक टेस्ट) र कल्चर परीक्षण गर्दा ५ जनामा हैजा पुष्टि भएकाे थियाे । बस्तीमा तीन वटा चापाकलबाट ९० परिवारले दैनिकी चलाउँदै आएका छन् । तीन वटै टोलमा ९० घरमध्ये एउटैमा शौचालय छैन । चापाकल पर्याप्त नहुँदा पानीका लागि उनीहरूले पाेखरी र खाेलाकाे भर पर्ने गरेका छन् । त्यही पाेखरी र खाेलाकाे पानीमा हैजाकाे जिवाणु भेटिएकाे छ ।     

सदा टोलका बासिन्दाले नुहाउने र भाँडा माझ्न प्रयोग गर्ने पोखरी र भलुवाही खोलाको पानीमा हैजाको जिवाणु भेटिएको हाे । गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा गत बुधबार चापाकल, पोखरी र खोलाको पानीको नमूना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर पठाएको थियो ।

Cholera is always a source of water in the village, ponds and rivers, and the settlement is plagued by poverty.

शनिबार रिपोर्ट आउँदा पोखरी र भलुवाही खोलाको पानीमा हैजाको जिवाणु भेटिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दिपेन्द्रप्रसाद यादवले बताए । ‘पोखरी र खोलामा भाँडा नमाझ्न र कुनै पनि किसिमले त्यहाँको पानी प्रयोग नगर्न स्थानीयलाई सचेत गराइरहेका छौं,’ उनले भने, ‘त्यस कार्यमा अन्य संघसंस्थाबाट खटिएका २० जना स्वयमसेवकले पनि सघाइरहेका छन् ।’ उनका अनुसार पखाला लागेका विरामीहरुको अवस्था समान्य छ भने स्थिति नियन्त्रणमा रहेको छ ।

यो टोलको करिब ६ सय मिटर दक्षिण पश्चिममा रहेकाे सदा समुदायकै अति विपन्न २७ परिवारको बसोबास रहेको टोलकाे अवस्था पनि उस्तै छन् । उक्त टाेलमा पनि कसैका घरमा शौचालय छैन् । गरिबीको मार खेपिरहेको उक्त टोलका पनि दुई जना झाडापखालाबाट ग्रस्त भएका छन् ।

यो टोलमा हैजा भन्दा पनि उनीहरुको गरिबीले सताइरहेको पीडाले चिन्तित छन् । ज्याला मजदुरी गर्दै जसोतसो गुजारा चलाउँदै आएका छन् । उनीहरु बिरामी परे आर्थिक समस्याले उपचार नपाएर मृत्यु पर्खनु परेको पीडा पोख्छन् । पाँच वर्षअघि सोही टोलकी ६२ वर्षीया समतोलियादेवी सदाको बाँया हात चल्न छोड्यो । घरमा पैसा नभएपछि तत्कालै उनको उपचार हुन सकेन । डेढ महिनापछि मजदुरी गर्न भारतको पञ्जाब पुगेका उनका जेठो छोरा शंकर र कान्छो शिवनारायण घर फर्किएपछि समतोलियादेवीलाई गाउँकै क्लिनिकमा उपचार सुरु गराए । तर, निको भएन । पछि दाजुभाइले आमालाई उपचार गराउन भारत विहारको खरैया लगे । केही दिनको उपचारपछि समतोलियादेवीलाई निको पनि भयो । तर, दाजुभाइले कमाएको भएभरको १७ हजार रुपैयाँ उपचारमा खर्चियो । उपचारबाट फर्किदा केही दिनसम्म उनीहरुको घरमा चुलो नै बलेन ।

तीन दिनसम्म काम नपाउँदा परिवारका सात सदस्यले जसोतसो छाक टारेको शिवनारायणले दुखेसो पोखे । पछि काम पाउन थालेपछि उनीहरुको दैनिकी त सहज भयो । तर, भएभरको पैसा खर्च गरेर उपचार गराएकी समतोलियादेवीलाई एक वर्ष नबित्दै पुनः त्यस्तै हुन थाल्यो ।

Cholera is always a source of water in the village, ponds and rivers, and the settlement is plagued by poverty.

उनले त्रैमासिक पाइरहेको बृद्धभत्ता (सामाजिक सुरक्षा भत्ता) पनि औषधि र छाक टार्दै सकिने गरेको छ । दाजुभाइले ज्याला मजदुरी गरेर ल्याएको पैसा पनि परिवारको गुजारामै अपुग हुँदा समतोलियादेवीले उपचार पाएकी छैनन् । हात हुँदै अहिले उनको शरीरका बाँया भाग नै चल्न छाडेको छ । समतोलियादेवी चार वर्षदेखि औछ्यानमै थला परेकी छन् । ‘आमाको यो अवस्थाले कमाउन पनि बाहिर जान सकेको छैन्,’ शिवनारायण भने, ‘निको हुने/नहुने त छँदैछ तर दुःख गरेर हुर्काएकी आमाको उपचार गराउन नसकेको कुराले पिरोलिरहन्छ ।’

शिवनारायण चार वर्षकै हुँदा बुवा गुमाएपछि उनकी आमाले नै अर्काको खेतबारीमा काम गरेर दुवै जना छोरालाई हुर्काएकी थिइन् । तर, आर्थिक अभावका कारण चाहेर पनि उनीहरुले आमाको थप उपचार गराउन सकेको छैन् । अहिले शिवनारायण र उनकी भाउजु धनेश्वरीदेवीको दिनचर्या समतोलियादेवीलाई खुवाउने, नुहाउने र बाहिर लगेर शौच गराउनेमा नै बित्ने गरेको उनीहरु बताउछन् ।

अशिक्षा र आम्दानीको स्रोत नहुदा सदा टोलका बासिन्दाको अवस्था सुधार हुन सकेको छैन । बस्तीका अधिकांश बालबालिका पनि विद्यालय जादैनन् । यो समुदायमा बालबालिकाकाको उमेर नपुग्दै बिहे गर्ने चलन छ । वडाध्यक्ष जयप्रकाश ठाकुरले सदा टोलका बासिन्दाले खानपनिमा बढि पैसा खर्च गरिरहेका कारण आर्थिक रुपले सबल हुन नसकेको बताए ।

‘दिनभरि मेहनतकासाथ मजदुरी गर्छन् तर साँझ परेपछि कमाएको सबै पैसा गलत खानपान (मदिरा)मै खर्च गर्ने प्रवृति व्याप्त छ,’ उनले भने, ‘अभिभावकले त्यसो गरिरहँदा बालबच्चा पनि त्यही देखासिकी गर्न खोज्छन् ।’ चाहेर पनि उनीहरुको व्यवहार परिवर्तन गर्न कठिन भइरहेको वडाध्यक्ष ठाकुरले बताए । ‘विद्यालय जान पनि रुचि राख्दैनन्, उमेर नपुग्दै विवाह गर्छन् र जिम्मेवारी थप भएपछि मजदुरी गर्न पञ्जाब र मुम्बइतिर जान्छन्’, उनले थपे ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully