एकढिक्का भएर विश्वासको मत दिन मुख्यमन्त्रीको आग्रह

सरकार अंकको खेल हो । सरकार आउँछ, जान्छ । त्यसकारण सरकारै सबै कुरा होइन । व्यवस्था महत्त्वपूर्ण कुरा हो : मुख्यमन्त्री

कार्तिक २२, २०८२

कमलेश ठाकुर

Chief Minister urges unity in vote of confidence

जनकपुरधाम — मधेश प्रदेशको मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल)ले एकढिक्का भएर विश्वासको मत दिन आग्रह गरेका छन् । शनिबार मधेश प्रदेश सभामा विश्वासको मत माग्दै उनले एकढिक्का भएर देशलाई नयाँ सन्देश दिन आग्रह गरेका हुन् ।

पक्ष/विपक्षभन्दा माथि उठेर जानुपर्ने अवस्था रहेको हुनाले ठूला पार्टीका सांसदहरूसँग पनि उनले मत माग्दै अनुरोध गरे । ‘म तपाईंहरू सबैसँग विश्वासको प्रस्तावमा मत दिएर काम गर्ने हौसला दिनुहुन अनुरोध गर्न चाहन्छु,’उनले भने,‘संघीयताको रक्षाका र लोकतन्त्रको मजबुतीका लागि आज एकढिक्का भएर सन्देश दिऊँ भनेर आग्रह गर्न चाहन्छु ।’

अग्रजको उपलब्धिलाई रक्षा गर्दै नयाँ पुस्ताको भविष्यलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने सोनलले बताए । संघीयताको उद्गमविन्दु नै मधेश भएको हुनाले थप जिम्मेवार भएर हिँड्न उनले सुझाए । ‘सरकार अंकको खेल हो । सरकार आउँछ, जान्छ । त्यसकारण सरकारै सबै कुरा होइन । व्यवस्था महत्त्वपूर्ण कुरा हो,’ उनले भने,‘त्यसकारण हामी एकढिक्का हुनुपर्छ ।’

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully