रौतहट प्रहरीले गत भदौ २४ गते कारागारबाट भागेकासहित विभिन्न मुद्दामा फरार चारजनालाई पक्राउ गरेको छ ।
राैतहट — रौतहट प्रहरीले गत भदौ २४ गते कारागारबाट भागेकासहित विभिन्न मुद्दामा फरार चारजनालाई पक्राउ गरेको छ ।
जेन–जी आन्दोलनपछि उतपन्न परिस्थितिका क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतबाट लागुऔषध गाँजा मुद्दाका फरार थुनुवा चन्द्रपुर– ६ ठोकर टोलका पनिलाल दासलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । गौर कारागारबाट फरार लागुऔषध मुद्दाका कैदी चन्द्रपुर–१ का २८ वर्षीय उमेश राना मगरलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए ।
कँडेलका अनुसार जग्गासँग सम्बन्धित मुद्दामा अदालतको फैसला र पत्र किर्ते खडा गरी गैरकानुनी तवरले आफनो नाममा दाखिला गराएको आरोपमा कटहरिया–१ का रामपुकार महतो कोइरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा श्रीधन लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरमा एजेन्टमा रुपमा कार्यरत गौर– ८ का सुरेन्द्र साहलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । साहले गाउँका सोझालाई विभिन्न प्रलोभन देखाई विश्वासमा पारी १ वर्षे र ७८ महिने खाता खोल्न लगाई उक्त खातामा रकम जम्मा गराउँदै आएको थिए । पछि उक्त सहकारी बन्द भई सम्बन्धित व्यक्ति फरार भएपछि साहलाई पक्राउ गरिएको कँडेलले बताए ।
