मधेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

कांग्रेस र एमालेसँग समेत विश्वासको मत माग्ने

कार्तिक १३, २०८२

कमलेश ठाकुर

Madhesh Chief Minister Sonal to seek confidence vote on Kartik 22

What you should know

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कात्तिक २२ गते मधेश प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनल र सत्तारूढ दलहरूसँगको बैठकपछि विश्वासको मत लिने निर्णय भएको हो । तथापि अहिलेसम्म प्रदेशसभालाई विश्वासको मत लिनेबारे औपचारिक जानकारी गराइएको छैन ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले सरकारमा सहभागी दलहरूको बैठकबाट कात्तिक २२ गते विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्‌ विस्तार गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार विश्वासको मतका लागि कांग्रेस र एमालेसँग समेत आग्रह गर्ने तयारी भएको छ ।

माओवादी संसदीय दलका उपनेता युवराज भट्टराईले पनि सोही कुरा दोहोर्‍याए । सरकार गठन गर्ने बेला नै धेरै कुरा स्पष्ट भएकाले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद्‌ विस्तार हुने उनको भनाइ छ ।

सोनल ५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । अहिले सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गर्ने भएका छन् । दुवै पार्टीबाट प्रदेशसभामा एक/एक जना सदस्य छन् । यी दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मत पर्ने देखिन्छ ।

१०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना प्रदेशसभा सदस्य कायम छन् । सोनल नेतृत्वको सरकारलाई बहुमतका लागि प्रदेशसभामा कायम रहेका सदस्यको बहुमत (५३ सदस्य) आवश्यक छ ।

सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा (एकीकृत समाजवादी)का ७ जना र नागरिक उन्मुक्ति पार्टी तथा नेपाल संघीय समाजवादी पार्टीका एक/एक जना प्रदेशसभा सदस्य रहेका छन् ।

सबैभन्दा ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस र जनमतबाट अलगिएर बनेको जनस्वराज पार्टी प्रतिपक्षमा बस्ने मनसायमा छन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully