बुधबार साँझ मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले आउने विपद्को सामना गर्न प्रदेश सरकार पूर्ण रुपमा तयार रहेको बताएका छन् । जल तथा मौसम पूर्वानुमान विभागले कात्तिक १३ देखि १५ सम्म मधेश प्रदेशको मौसम गडबढ हुने अनुमान गरेको छ ।
जनकपुरधाम — मधेश प्रदेश सरकारले विपद् तथा जोखिमबाट नागरिकलाई जोगाउन गृहकार्य थालेको छ । मधेश सरकार सम्भावित विपद् तथा जोखिम न्यूनीकरण गर्न सक्रियता पनि बढाएको हो ।
बुधबार साँझ मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले आउने विपद्को सामना गर्न प्रदेश सरकार पूर्ण रुपमा तयार रहेको बताएका छन् । जल तथा मौसम पूर्वानुमान विभागले कात्तिक १३ देखि १५ सम्म मधेश प्रदेशको मौसम गडबढ हुने अनुमान गरेको छ ।
मधेश प्रदेशको सप्तकोसी, बागमती, कमला, रातु, लखनदेह र लालबकैया खतराभन्दा माथि पुग्न सक्ने विभागको अनुमान छ ।‘प्रदेश सरकार यो अवस्थालाई समाना गर्न पूर्ण तयार रहेको छ । मधेश प्रदेश प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विपद् उद्धार टोलीलाई सम्भावित जोखिम क्षेत्रमा तयारी अवस्थामा राखिएको छ,’मुख्यमन्त्री सोनलले भने,‘आवश्यक पर्ने डुंगा, लाइफ ज्याकेट र अन्य उद्धार सामग्रीको भण्डारण सुनिश्चित गरिएको छ ।’ सम्बन्धित स्थानीय तहसँग निरन्तर सम्पर्क गरी सहकार्यको वातावरण पनि बनाइरहेका मुख्यमन्त्रीको भनाइ छ ।
मुख्यमन्त्री सोनलले उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अनुरोध गरेका छन् । नदी किनार तथा डुबानको जोखिममा रहेका बस्तीलाई उच्च स्थानमा सार्न/सर्न उनले अपिलसमेत गरे । केही समयका लागि धर्मशाला, विद्यालय र सार्वजनिक भवनमा जान उनले अनुरोध गरे ।
नदी खोला र नहर तरेर आवतजावत नगर्न मधेस नागरिकको उनले ध्यानकर्षण गराए । ‘धान तत्काल नकाटौं, काटेको भए छिट्टो घर भित्र्याउने काम गरौं,’मुख्यमन्त्री सोनलले भने ।