देवनारायण साह दम्पती न्यायका लागि गुहार माग्दै

मधेश प्रदेशकी सांसदसमेत रहेकी बुहारी किरणकुमारी साह र छोरा विनोदकुमार साहले घरबाट निकालेपछि आफूहरूको बिचल्ली भएकाे वृद्ध दम्पतीको गुनासो ।

कार्तिक १२, २०८२

विद्यानन्द राम

Devnarayan Sah couple seeking justice

What you should know

काठमाडौँ — मधेश प्रदेशकी सांसदसमेत रहेकी बुहारी किरणकुमारी साह र छोरा विनोदकुमार साहले घरबाट निकालेपछि सप्तरीको राजविराज नगरपालिका–७ का देवनारायण साह दम्पती अहिले न्यायका लागि चौतर्फी गुहार माग्न बाध्य भएका छन् । मंगलबार साँझ ८० वर्षीय देवनारायण र उनकी ७५ वर्षीया पत्नी शान्तिदेवीले सामाजिक सञ्जालमा भिडियो नै सार्वजनिक गरेपछि सो विषय सार्वजनिक भएको हो ।

छोराबुहारीले घरबाट निकालेपछि झण्डै दुई सातादेखि भौतारिँदै आएको दुखेसो पनि उनीहरूले पोखेका छन् । ०८२ असोज २० मा आफूहरू मन्दिर गएका बेला घरमा भएको दराजको ताल्चा फुटाएर त्यसमा भएको १ लाख २५ हजार रुपैयाँ र घरजग्गाका सबै कागजात निकालेर गालीगलौज गर्दै घरबाट निकालेको देवनारायणको आरोप छ ।

‘कागजात कब्जामा लिएपछि घरको मालिक मै हुँ भन्दै छोराले यहाँबाट गइहाल भन्न थाल्यो,’ उनले भने, ‘मेरी श्रीमती सांसद हो, कसैले पनि केही गर्न सक्दैनन् भन्दै धाक लगाउँदै छोराले नै दुःख दिन थालेको छ ।’

घटनाको दुई दिनपछि प्रहरीमा उजुरी गर्दा पनि सुनुवाइ नभएको देवनारायणले गुनासो गरे । ‘सांसद बुहारीले पनि श्रीमतीलाई गालीगलौज गर्दै भान्सा कोठामा गए खुट्टा भाँचिदिने धम्की दिइरहन्थिन्,’ पूर्वकर्मचारीसमेत रहेका देवनारायणले भने, ‘पछिल्लो पटक कार्तिक २ मा छोराले पैसा ल्याऊ भन्दै गालीलगौज गर्दै कुट्न आइसकेको थियो, पैसा छैन भने यहाँबाट गइहाल्न भन्न थालेपछि डरले हामी घरबाट निस्किन बाध्य भयौं ।’

‘जेठो विनोदलाई इन्जिनियर र कान्छो मनोजलाई डाक्टर बनाएँ । अहिले आफैं मगन्ते भएर हिँड्नु परेको छ,’ उनले थपे, ‘कान्छो काठमाडौंमा बस्छ, जेठोले मैले आफैंले दुःख गरी बनाएको घरबाट मलाई नै निकालिदियो, अहिले बेघर भएका छौं ।’ 

जनता समाजवादी पार्टी (जसपा) नेपालकी समानुपातिक सांसद किरणले ‘सेफ्टी ट्यांक’ सफा गराउने विषयमा बुवा–छोरामा सामान्य विवाद हुँदा आफूलाई अनाहकमा मुछेको दाबी गरिन् । ‘उहाँहरू भाइटीकामा मेरी नन्दकोमा जानुभयो, त्यसपछि हाम्रो फोन पनि उठाउनुभएको छैन,’ उनले भनिन्, ‘मैले झै–झगडा वा गालीगलौज गरेको पनि छैन, भिडियोमा ममाथि अनाहकका आरोप लगाउनु भएको छ ।’ 

विनोदले अस्तव्यस्त रहेको घरलाई व्यवस्थित गर्नका लागि पैसा माग्दा बुवाले आफूलाई नै हातपात गरी उल्टै भिडियो बनाई सार्वजनिक गरेको आरोप लगाए ।

‘म प्रायः काठमाडौंमै बस्छु, दसैंमा फर्किंदा सबैतिर दुर्गन्धित र अस्तव्यस्त देख्दा नराम्रो लागेर व्यवस्थित गर्न थालेँ,’ उनले भने, ‘त्यही कामका लागि पैसा माग्दा रिसाएर बुवाले ममाथि नै हातपात गर्नुभयो अनि आफूमाथि नै हातपात गरेको आरोप लगाउँदै प्रहरीमा पनि उजुरी गर्नुभएको छ ।’ उनले बुवाआमा अहिले राजविराजस्थित दिदीको घरमा रहेको भन्दै प्रहरीले फोन गरेपछि काठमाडौंबाट आफू फर्किएको पनि बताए ।

तर, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले देवनारायण साहको नामले कुनै उजुरी नआएको बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully