महिलामाथि निर्घात कुटपिट भएको र उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सिरहा — सिरहामा कुटपिटबाट एक महिलाको ज्यान गएको छ । लहान नगरपालिका-५ खुट्टीपारी पर्तीटोलका सदिक मियाँकी श्रीमती ५० वर्षीया नुरजहाँ खातुनको कुटपिटबाट ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार मृतक महिलाले छठमा खुट्टी खोला किनारमा खुद्रे किराना पसल थापेकी थिइन् । मंगलबार बिहान उक्त पसलबाट स्थानीय रिजो खातुनको छोरा मोहम्मद सकिलले सामान चोरेको भन्दै उनी सकिलको घर पुगेर गुनासो गरेकी थिइन् ।
सोही क्रममा महिलामाथि निर्घात कुटपिट भएको र उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
घटनामा पीडित परिवारले मेहदी आलम, नजिमुन खातुन, मोहम्मद सकिल, बोलिया खातुन र रिजो खातुन गरी पाँच जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । जसमध्ये ४ जनालाई नियन्त्रणमा लिइसकेको डीएसपी पालले जानकारी दिए ।
यस्तै, फरार रहेका एक जनाको खोजीसहित घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
