मधेसमा सुरक्षा निकायलाई निर्वाचनको तयारीमा लाग्न गृहमन्त्रीको निर्देशन

प्रदेशका सुरक्षा निकाय प्रमुख र धनुषा, सर्लाही, सिराहा र महोत्तरीका सुरक्षा समितिका पदाधिकारीहरुसँग गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए ।

कार्तिक ११, २०८२

सुनिता बराल

Home Minister directs security agencies in Madhesh to prepare for elections

महोत्तरी — मधेस प्रदेशको सुरक्षा संयन्त्रलाई गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन गराउने गरी तयारीमा लाग्न निर्देशन दिएका छन् ।

मंगलबार महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल छिन्नामस्त बाहिनीमा भएको जिल्ला र प्रदेशका सुरक्षा समितिका पदाधिकारीहरुको बैठकमा मन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन् ।

प्रदेशका सुरक्षा निकाय प्रमुख र धनुषा, सर्लाही, सिराहा र महोत्तरीका सुरक्षा समितिका पदाधिकारीहरुसँग मन्त्री अर्यालले सरकार तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेकाले आवश्यक तयारी अघि बढाउन उनले निर्देशन गरेका हुन् ।

मधेसका नागरिकले सुशासनको अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नसमेत सुरक्षा संयन्त्रलाई निर्देशन गरेका छन् ।

बैठकमा प्रदेशका प्रमुख सचिव, प्रदेश सुरक्षा समितिका प्रमुखहरु, ४ जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति थियो । उपस्थितले जिल्ला र प्रदेशमा जेन–जी विद्रोह पछिको समसामयिक सुरक्षा अवस्था र चुनौतीबारे जानकारी गराएका थिए । 

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully