घटनाको अनुसन्धान गर्न प्रहरीले एक भारतीय युवकसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
What you should know
बारा — महागढीमाई नगरपालिका–५ बगडमपुर गाउँका एक युवकको शव मंगलबार गाउँ नजिकैको पोखरीमा फेला परेको छ । २१ वर्षीय कमलकुमार सहनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । उनका अनुसार घटनाको अनुसन्धान गर्न एक भारतीय युवकसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
मृतक युवक छठ व्रत बसेका थिए । सोमबार साँझ छठ घाटबाट पूजा गरेर घर फर्किएको र घरबाट फेरि छठ घाट जान्छु भनेर निस्केपछि उनी सम्पर्कविहीन भएका थिए । रातपरेपछि घर नफर्किँदा परिवारजनले खोजी गर्दा कतै फेला नपरेपछि राति प्रहरीलाई खोजी गर्न जानकारी गराइएको थियो ।
प्रहरीले खोजी गर्दै जाँदा गाउँ नजिकैको बाँसघारीमा युवकको ज्याकेट, मोबाइल, एयरफोन, पर्सलगायतका सामान फेला परेको थियो । त्यसपछि प्रहरीले शंका गर्दै नजिकैको पोखरीमा जाल लगाएर खोजी कार्य गरेपछि युवकको शव फेला परेको वडा ४ का वडाध्यक्ष मनोज जयसवालले बताए । उनलाई कसैले रिसइबीले हत्या गरेको हुन सक्ने उनले बताए । शव फेला पर्दा नाकबाट रगत बगेको उनले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए । उनका अनुसार घटनाको अनुसन्धान गर्न वडा ४ दहियार गाउँमा भारतबाट मामाघर आएका युवक सोनु ठाकुरसहित सोही वडाका स्थानीय अर्का एक युवक उमेश रामलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ । तालिम प्राप्त कुकुरको सहारामा घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
