विराटनगर महानगरपालिका–१६ का २७ वर्षीय अभिषेककुमार यादवलाई पक्राउ गरी आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप लिएको डीएसपी डम्बरबहादुरी पुरीले बताए ।
What you should know
राजविराज — सप्तरी प्रहरीले डर-त्रास देखाएर १४ लाखभन्दा बढी ठगी गर्ने समूहका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१६ का २७ वर्षीय अभिषेककुमार यादव रहेका छन् । उनलाई गत शनिबार राति घरनजिकैबाट पक्राउ गरेको हो ।
यादवसहितको समूहले २०८० फागुन ६ मा ह्वाट्सएपमा फोन गरी डर-त्रास देखाउॅंदै छोरालाई कब्जामा लिएको भन्दै मन्जुदेवी शाक्यसॅंग रकम माग गरेको थियो । मन्जुदेवीले विभिन्न व्यक्तिको बैंक खातामा १२ लाख ५० हजार रुपैयाँ जम्मा गरेपछि आफू ठगीमा परेको थाहा पाएको उनको जाहेरीमा उल्लेख छ । उनीहरुले पुनः फागुन ८ मा ह्वाट्सएपमै फोन गरी अर्की राजकुमारी देवीसॅंग पनि ६० हजार रुपैयाँ ठगी गरेका थिए ।
मलेसियामा रहेका छोरा बलात्कार मुद्दामा फसेको र उनलाई बचाउनका लागि ५ लाख रुपैयाँ बैंकमा पठाउन लगाइएको राजकुमारीको जाहेरीमा उल्लेख छ । उनीहरुले एक जनालाई कुटपिट गर्दै गरेको भिडियो पनि पठाएकाले डरले तत्कालै पैसा जोहो गरेर ५० हजार रुपैयाँ पठाए पनि थप पैसा पठाउनका लागि यादवसहितको समूहले राजकुमारीलाई पटक-पटक फोन गरी धम्की दिॅंदै आएको थियो । तर, त्यही बेला छोरासॅंग फोनमा कुरा हुँदा केही नभएको कुरा जानकारीमा आएको ठगीमा परेकी राजकुमारीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
सोही दिन यादवसहितकाले मुकेशकुमार सिंहलाई मारेर फालिदिन्छु भन्दै डर-त्रास देखाउॅंदै उनका बुवासॅंग १ लाख रुपैयाँ ठगी गरेका थिए । बुवालाई फोन गरी बच्चालाई अपहरण गरी लैजाँदै गर्दा छोरालाई समातेको भनी झूटो कुरामा डर-त्रास देखाउॅंदै सो रुपैयाँ पठाउन लगाएको मुकेशकुमारले दिएको जाहेरीमा उल्लेख छ । पैसा जम्मा गरेपछि फोन गर्ने व्यक्ति सम्पर्कविहीन बनेका थिए ।
ती घटनाको अनुसन्धान भइरहॅंदा फरार रहेका यादवलाई पक्राउ गरी आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप लिएको डीएसपी डम्बरबहादुरी पुरीले बताए । अन्यको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
