पक्राउ पर्नेमा ट्यांकर चालक भारत बिहार मधुवनी जिल्ला थाना राहिका पोष्ट चैनपुर ग्राम पञ्चायत हुसेनपुर टोलका ४२ वर्षीय राजकुमार यादव छन् ।
पर्सा — शनिबार राति हुलाकी सडक खण्डमा मोटरसाइकललाई ठक्कर दिएर फरार भारतीय ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्यांकर चालक भारत बिहार मधुवनी जिल्ला थाना राहिका पोष्ट चैनपुर ग्राम पञ्चायत हुसेनपुर टोलका ४२ वर्षीय राजकुमार यादव छन् ।
उनलाई वीरगन्ज महानगरपालिका–१६ नगवाबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो ।
शनिबार राति साढे ९ बजेतिर ठोरी गाउँपालिका–४ हुलाकी सडक खण्डको सुवर्णपुरबाट विजयबस्तीतर्फ जाँदै गरेको प्रदेश नं २–०४–०२१ प १७७० नम्बरको मोटरसाइकललाई अज्ञात सवारी साधनले ठक्कर दिएर फरार भएको र पहिचान नभएका अन्दाजी ३६ वर्षका दुई पुरुष सडकमा लडिरहेको खबर पाएपछि इप्रका ठोरीबाट टोली खटिएको थियो ।
प्रहरीले अनुसन्धान गर्दा घाइते दुईमध्ये ठोरी–५ ठूलो बागमोर्चाका ३५ वर्षीय फुर्वा लोप्चनको घटनास्थलमै मृत्यु भएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट करिब १ किमि दूरीमा ना ७ ख २१७८ नम्बरको ट्यांकरलाई नियन्त्रणमा लिएको थियो ।
चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
