घडिअर्वा घाटमा छठको तयारी पूरा

घाटको व्यवस्थापनमा २३ लाख रुपैयाँभन्दा बढी खर्च भएको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

कार्तिक ९, २०८२

शंकर आचार्य

Chhath preparations complete at Ghadiarwa Ghat

What you should know

पर्सा — वीरगन्जको प्रसिद्ध छठ घाट घडिअर्वा छठ घाटमा छठ पर्व लक्षित सम्पूर्ण तयारी पूरा भएको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । समितिले आइतबार पत्रकार सम्मेलन गरी घाटको व्यवस्थापनको तयारीसँगै यस वर्षको अनुमानित आय–व्यय विवरणसमेत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राकेश साह कानुले यस वर्ष करिब २६ लाख ७ हजार ७ सय ५५ रुपैयाँ बराबरको अनुमानित आम्दानी र २३ लाख ८ हजार रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको बताए । उनले घाटमा हुने छठ पूजालाई भव्य, सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि बताए ।  

यस वर्ष समितको आम्दानीका मुख्य स्रोतहरूमा टिकट बिक्री, विज्ञापनदाता सहयोग, व्यक्तिगत सहयोग र संघ–संस्थाबाट प्राप्त सहयोग रहेको उनले बताए । विवरण अनुसार टिकट बिक्रीबाट २० लाख, विज्ञापनदाता सहयोगबाट ५ लाख, व्यक्तिगत सहयोगबाट ६७ हजार र संघ–संस्थाबाट ४० हजार संकलन हुने अनुमान गरिएको छ ।

त्यस्तै, खर्चका मुख्य शीर्षकमा टेन्ट, पण्डाल, सजावट, बत्ती, साउण्ड, फूलमाला आदिमा १२ लाख रुपैयाँ खर्च गरिने छ । मञ्च निर्माण, प्रकाश सजावट, सुरक्षा व्यवस्था, सांस्कृतिक कार्यक्रम, पूजा सामग्री, तथा अतिथिको स्वागत आदि शीर्षकमा पनि रकम खर्च गर्दै छ ।

समितिका सचिव सन्तोषकुमार साहले घाटको सुरक्षा व्यवस्थामा कुनै पनि सम्झौता नगरिएको बताए । उनले नेपाल र सशस्त्र प्रहरी, नेपाली सेनाको पनि समन्वय गरी घाटको सुरक्षा व्यवस्था कडा पारिएको बताए । पूजाको मुख्य दिन यो घाटमा करिब १० हजार व्रतालु र दुई लाख बढी भक्तजान आउने अनुमान गरिएको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully