राजविराज भन्सारमा ३ महिनामा २० प्रतिशत पनि उठेन राजस्व 

कूल ८ करोड १७ लाख १५ हजार रुपैयाँ वार्षिक लक्ष्य लिएको भन्सारले असोजसम्म १८.५१ प्रतिशत मात्र राजस्व उठाएको हो ।

कार्तिक ७, २०८२

विद्यानन्द राम

Rajbiraj Customs does not collect even 20 percent of revenue in 3 months

राजविराज — सप्तरीको राजविराज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा २० प्रतिशत पनि राजस्व उठाउन सकेको छैन । कूल ८ करोड १७ लाख १५ हजार रुपैयाँ वार्षिक लक्ष्य लिएको भन्सारले असोजसम्म १८.५१ प्रतिशत मात्र राजस्व उठाएको हो ।

मासिक लक्ष्यअनुसार साउनमा ५९.९० र भदौमा ५९.३ प्रतिशत मात्र राजस्व उठेको छ भने असोजमा वृद्धि भइ १०३.४४ प्रतिशत राजस्व उठेको हो ।

भन्सारले साउनमा ६६ लाख ७३ हजार, भदौमा ६८ लाख ४६ हजार र असोजमा ६८ लाख ५२ हजार लक्ष्य लिएको थियो । जीर्ण सडकले ढुवानी गर्न समस्या भइरहँदा ठूला व्यापारी नआउनु र क्वारेन्टाइन नहुनुले राजस्व संकलनमा कमी आएको भन्सारका सूचना अधिकारी नायब सुब्बा विजयकुमार साहले बताए ।

‘चोरी पैठारीले पनि राजस्व संकलनमा कमी आएको हो,’ उनले भने, ‘हुन त हामीले असोज महिनामा मासिक लक्ष्यअनुसार १०३.४४ प्रतिशतसम्म राजस्व उठायौं तर कहिलेकाहीँ सुराकी पाएर पनि जनशक्ति अभावका कारण समयमै पुग्न सकिरहेको छैन ।’

जेन–जी आन्दोलनपछिको अवस्थाले पनि नाकामा चोरी पैठारी नियन्त्रण गर्न समस्या भइरहेको उनले बताए । ‘३० मिनेटअघि सुराकी आएको ठाउँसम्म त हामी पुगेको पनि हो तर त्योभन्दा कम समय पाएको खण्डमा पुग्न समस्या भइरहेको छ,’ उनले भने । गत वर्ष पनि ८ करोड ८१ हजार ७९ हजार लक्ष्य लिएको भन्सारमा ८९.९९ प्रतिशत (७ करोड २२ लाख ९४ हजार) मात्र राजस्व उठेको थियो । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully