धमाधम छठ पर्वको तयारी सुरु

तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको हो ।

कार्तिक ६, २०८२

रासस

Preparations for Chhath festival begin in full swing

जलेश्वर (महोत्तरी) — तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेससहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ ।

मिथिलाको प्रमुख पर्वको रुपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउहरुमा तयारी सुरु भएको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रूव रायले जानकारी दिए । सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले बताए ।

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासीहरु यस पर्वलाई धुमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए ।

सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।  

जलेश्वर नगरपालिका–१स्थित बरुण सरोवरमा पनि छठ पर्वको लागि चारैतिर ठूल–ठूला पंडाल, रंगीचङ्गी साजसज्जा भइरहेको वडा अध्यक्ष अनिल झाले बताए । 

यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीहरुमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए ।

रासस

Link copied successfully