बसमा आगलागीका कारण पूर्व-पश्चिम राजमार्ग केही समयका लागि अवरुद्ध भएको थियो ।
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्कानजिक बुधबार बिहान गुडिरहेको बसमा आगलागी भएको छ ।
आगलागीमा मानवीय क्षति नभए पनि बस पूर्णरुपमा जलेको छ । काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बुधबार बिहान करिब ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी राैतहटका डिएसपी राजु कार्कीका अनुसार बसको ब्रेक जाम भएर अचानक गाडी रोकिएकाे केहीबेरमै बसमा आगो लागेको थियो । बस रोकिनासाथ यात्रुहरू सबै बाहिर निस्केकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली र स्थानीयको सहयोगमा बारुण यन्त्र परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो ।
बसमा आगलागीका कारण पूर्व-पश्चिम राजमार्ग केही समयका लागि अवरुद्ध भएको थियो । प्रहरीले आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
