कलैया उपमहानगरका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख भुलन साहले नगरपालिकासित कुकुर नियन्त्रमा लिने जाली (डग क्याप्चर नेट) नभएकाले कुकुरलाई नियन्त्रणमा लिन नसकिएको बताए ।
What you should know
बारा — कलैया प्रादेशिक अस्पतालअघि एक बहुलाहा कुकुरले टोक्दा ७० जनाभन्दा बढी मानिस घाइते भएका छन् । मंगलबार दिउँसो सडकमा भौंतारिरहेको कुकुरले जथाभावी मानिसलाई टोक्दै हिँडेको थियो ।
तिहारसँगै छठ पर्वले सडकमा सर्वसाधारणको भीड र चहलपहल भएका बेला उक्त कुकुरले बाटोमा हिँडिरहेका जोकोहीलाई टोकेर घाइते बनाइदिएको हो ।
दिउँसोदेखि यस्तो घटना भइरहे पनि अहिलेसम्म कुकुर नियन्त्रणमा आएको छैन । कलैया उपमहानगरका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख भुलन साहले नगरपालिकासित कुकुर नियन्त्रमा लिने जाली (डग क्याप्चर नेट) नभएकाले कुकुरलाई नियन्त्रणमा लिन नसकिएको बताए । उनका अनुसार जाली पशु कार्यालयलाई हस्तान्तरण गरिएको र आज बिदाको दिन भएकाले नियन्त्रण सम्भव नभएको हो ।
अस्पताल नजिकको बरेवा दरबारदेखि दक्षिण बरेवा उच्च माविसम्मको १ किमिको दूरीसम्म कुकुरले दौडिँदै टोकेको थियो । कुकुरको टोकाइबाट नेपाल पत्रकार महासंघका पूर्वउपसभापति राकेश पाण्डेसहित कम्तीमा ७० जना घाइते छन् । ५२ जना घाइते कलैया अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पाण्डेले बताए । उनले कुकुरको हुलिया पत्ता लगाएर खोजी कार्य जारी रहेको दाबी गरे ।
१८ जना एन्टी रेबिज सुईका लागि वीरगन्ज अस्पतालमा पुगेको पत्रकार महासंघका पूर्वउपसभापति पाण्डेले बताए । कलैया अस्पतालमा त्यस किसिमको सुई नभएकाले पनि घाइतेहरू वीरगन्ज पुगेका हुन् । ‘कुकुरले टोकेर गम्भीर घाउ भएकाले वीरगन्जस्थित नारायणी अस्पताल आइपुगेको हुँ,’ पूर्वउपसभापति पाण्डेले भने, ‘बाइक चलाइरहँदा कुकुरले मलाई उफ्रेर टोकेको थियो ।’
घटनापछि प्रहरी प्रमुख र नगर प्रमुखलाई कैयौं पटक फोन गर्दा फोन रिसिभ नभएको उनले गुनासो गरे । वृद्धवृद्धासहित कैयौं घाइते भएको र उनीहरूको अवस्था दर्दनाक रहेको पनि उनले सुनाए ।
