जनप्रतिनिधिको बेवास्ताले भवन बनेको डेढ वर्षमा पनि सञ्चालन आएन अस्पताल

तोकिएको समयमा निर्माण कार्य गर्दा पनि आफूहरूमाथि अनाहकमा आर्थिक भार थपेको निर्माण कम्पनीका प्रतिनिधि विनोदकुमार यादवले बताए ।

कार्तिक ४, २०८२

विद्यानन्द राम

Hospital not operational even a year and a half after construction due to neglect by public representatives

What you should know

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा सुविधा सम्पन्न भवन बनेको डेढ वर्षमा पनि अस्पताल सञ्चालनमा आएको छैन ।

०७९ वैशाख २१ मा सम्झौता भएर कूल १४ करोड रुपैयाँको लगानीमा ०८१ वैशाख १४ मै अस्पताल भवन निर्माण भइसकेको हो । तर, जनप्रतिनिधिले अस्पताल सञ्चालन गर्न चासो देखाएका छैनन् भने डेढ वर्षदेखि भवनसमेत बुझ्न मानेका छैनन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजले अस्पताल भवन बुझाउनका लागि गाउँपालिकामा पटक–पटक पत्राचार गर्दा पनि जनप्रतिनिधिले वास्ता गरेका छैनन् । ‘हामीले आफ्नो कार्य सम्पन्न गराएदेखि नै भवन बुझ्नका लागि पटक–पटक गाउँपालिकालाई आग्रह गर्दै आइरहेका छौं, पत्राचार पनि गर्‍यौं तर जनप्रतिनिधिले भोलि भोलि भन्दै टार्दै आइरहनुभएको छ,’ आयोजनाका प्रमुख सुरेन्द्रकुमार साहले भने, ‘अस्पताल सञ्चालन गर्नु गाउँपालिकाको कार्य हो, तर अहिलेसम्म भवन नै बुझ्न मानिएको छैन ।’ 

गाउँपालिकाले भवन बुझ्न नमानिरहेको विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने र त्यसपछि पनि सुनुवाइ नभए विभाग र मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने आयोजना प्रमुख साहको भनाइ छ । ४२ वटा कोठा, १ सय ५० केभीएको ट्रान्सफर्मर र १ सय २६ केभीएको जेनेरेटरसमेत जडान गरी विद्युतीकरण गरिएको तीन तलाको सो अस्पताल भवन डेढ वर्षदेखि निर्माण कम्पनी ‘देव एण्ड सायर/ड्राग्न जेभी काठमाडौं’ ले नै रेखदेख गर्दै आएको छ ।

तोकिएको समयमा निर्माण कार्य गर्दा पनि आफूहरूमाथि अनाहकमा आर्थिक भार थपेको निर्माण कम्पनीका प्रतिनिधि विनोदकुमार यादवले बताए । ‘हामीले काम सम्पन्न गर्दा पनि डेढ वर्षदेखि भवन रेखदेखका लागि तलब खुवाएर चौकीदार राख्नु परेको छ,’ उनले भने, ‘उहाँहरूको मनसाय बुझ्नै सकिनँ, स्पष्ट केही भन्नुभएको पनि छैन । जहिले भोलि भोलि भन्नुहुन्छ ।’ 

गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले अस्पताल सञ्चालन गर्न बजेट नहुँदा भवन नबुझेको बताए । ‘भवन जिम्मा लिएसँगै तत्कालै रेखदेख गर्नका लागि कम्तीमा दुई जना पाले राख्नुपर्छ, त्यसबेला त्यसका लागि पनि बजेट थिएन,’ उनले भने, ‘यस वर्षदेखि अस्पताल सञ्चालन गर्ने विषयमा हाम्रो छलफल भइरहेको छ, सम्भवतः चैतसम्ममा अस्पताल सञ्चालन गर्छौं ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully