स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाले हैजा नियन्त्रणको क्षेत्रमा डेढ महिनामा संघसंस्थाहरूले गरेको काम सराहनीय रहेको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।
What you should know
पर्सा — पर्सामा हैजा रोकथामका लागि सरोकारवालाहरूको साझा प्रयास आवश्यक रहेको औंल्याइएको छ । आइतबार वीरगन्जमा आयोजित 'हैजा पुनरावलोकन तथा समीक्षा कार्यक्रम'का सहभागीहरूले उक्त कुरा बताएका हुन् । स्टार्ट नेटवर्कको सहयोग र मेडेसा डुमोन्डको सहकार्यमा आसमान नेपाल पर्साले कार्यक्रम आयोजना गरेको हो ।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले हैजाविरुद्धको अभियानमा सरोकारवाला संघसंस्थाहरूबीच आवश्यक समन्वय नभएको गुनासो गरे । उनले सुरुदेखि संघसंस्थाहरूबीच समन्वय गरेर काम गरिएको भए हैजाले यति ठूलो रूप लिन नसक्ने बताए ।
रेडक्रस सोसाइटी पर्साका सभापति वृजकिशोर पटेलले थप दुई/तीन महिना हैजाविरुद्धको सतर्कता र अभियान आवश्यक रहेको औंल्याए । उनले हैजा नियन्त्रण अभियानमा नीति निर्माणकर्ताको उल्लेख्य सहभागिता हुनुपर्नेमा पनि जोड दिए ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाले हैजा नियन्त्रणको क्षेत्रमा डेढ महिनामा संघसंस्थाहरूले गरेको काम सराहनीय रहेको बताए । उनले यसलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिए ।
नारायणी अस्पताल वीरगन्जकी अधिकृत श्रुति साहले फाट्टफुट्ट रूपमा हैजा अझै पनि देखा परिरहेकाले ढुक्क भएर बस्ने अवस्था अझै आइनसकेको बताइन् । आवश्यक सावधानी नदेखाइए यो दोहोरिएर आउन सक्ने जोखिम अझै कायमै रहेको उनले सुनाइन् ।
वीरगन्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंहले जनप्रतिनिधि र संघसंस्थाबाटै हैजा नियन्त्रणको क्षेत्रमा सकारात्मक भूमिका नखेलिएको आरोप लगाए । उनले जनताको स्वास्थ्यसँग खेलवाड गर्ने काम भएको पनि आरोप लगाए ।
वीरगन्ज महानगरपालिकाको कार्यालयकी अधिकृत प्रतिज्ञा वैद्यले नालाबाट खानेपानीका पाइप अझै नहटेकाले जोखिम नटरेको बताइन् । खानेपानी संस्थानको जस्तो सुक्खाको समयमा हतारमा जडान गरिएका बोरिङका पाइप भूमिगत रुपमा नगाडिएसम्म हैजाको जोखिम अन्त्य नहुने उनले सुनाइन् ।
आसमान नेपाल पर्साका प्रमुख निरन्जन यादवले पर्सामा फैलिएको हैजा नियन्त्रणका लागि सरोकारवाला संघसंस्था तथा निकायहरूबीच समन्वय र सहकार्य वृद्धिका लागि प्रयास जारी रहने बताए ।
