धनगढीमाई नगरपालिका-८ टेना टोलमा ग्राभेल खनिएको खाल्डोमा जमेको पानीमा डुबेर १३ वर्षीया बालिकाको ज्यान गएको हो ।
सिरहा — सिरहाको धनगढीमाई नगरपालिका-८ टेना टोलमा ग्राभेल खनिएको खाल्डोको पानीमा डुबेर एक जना बालिकाको ज्यान गएको छ । स्थानीय दिनेश यादवकी १३ वर्षीया छोरी आकृतिकुमारी यादवको ज्यान गएको हो ।
प्रहरीका अनुसार, आइतबार दिउँसो ३ बजे उनलाई स्थानीयले बस्तीभन्दा ५ सय मिटर पर रहेको शिव महतोको खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबिरहेको अवस्थामा देखेका थिए । त्यसपछि तत्कालै उनलाई परिवारजनले नजिकै रहेको आरके मेडिसिटीमा लगेका थिए ।
तर, त्यहाँका चिकित्सकले उपचारको क्रममा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता रमेशबहादुर पालले बताए ।
