धनुषा कांग्रेस सभापतिसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा जिल्ला अदालतले सोधपुछमा अनुपस्थित रहेका कांग्रेस नेताहरूविरुद्ध असोज ३१ गते पक्राउ पुर्जी जारी गरेको छ, मुद्दा नालाको विवादसँग सम्बन्धित छ।

कार्तिक २, २०८२

कमलेश ठाकुर

Arrest warrant issued against seven people including Dhanusha Congress president

जनकपुरधाम — नेपाली कांग्रेस धनुषाका सभापति सहित सात जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।

धनुषा जिल्ला अदालतले असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार, उनका छोरा अमर पञ्जियार, क्षिरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय नीरज मण्डल र क्षिरेश्वरनाथ–१ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

यो पक्राउ पुर्जी सुशीलकुमार चौधरीको जाहेरीका आधारमा जारी भएको अदालतले जनाएको छ। पक्राउ पुर्जी हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।

केही महिनाअघि नालाको विषयमा विवाद भएपछि स्थानीय नेपाली कांग्रेस र नेकपा एमाले समर्थित नेताहरूबीच कुटाकुट भएको थियो। दुवै पक्षले एक अर्का विरुद्ध जाहेरी दिएका थिए। नेकपा एमाले समर्थित नेताहरू कानुनी प्रक्रियाअनुसार अदालतमा हाजिर भइसकेका छन् भने कांग्रेस समर्थित नेताहरू उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो।

यस्तै, वडाध्यक्ष मण्डलले दिएको ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादीहरूको सीआरएस जाँच भइरहेको छ। मण्डलले एमालेका राजदेव चौधरी, सुशील कुमार चौधरी, अनिल कुमार चौधरी, अनिल यादव र अनित यादवविरुद्ध जाहेरी दिएका थिए।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully