सप्तरीमा ७० वर्षीय वृद्धको गोली हानी हत्या, कुकुरको सहायताले अनुसन्धान सुरु

कबीर पन्थका अनुयायी समेत रहेका ७० वर्षीय रामदुलार दास (साह)को आइतबार बिहान राति पौने २ बजे गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो।

कार्तिक २, २०८२

विद्यानन्द राम

70-year-old man shot dead in Saptari, investigation begins with the help of dogs

राजविराज — सप्तरीको बोदे बर्साइन नगरपालिका–८ रजपट्टीमा अज्ञात व्यक्तिले गोली प्रहार गरी वृद्धको हत्या गरेको घटनामा तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान थालिएको छ ।

आइतबार बिहान पौने २ बजे सोही ठाउँका ७० वर्षीय रामदुलार दास (साह) गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए। कबीर पन्थका अनुयायी उनी १०–१२ वर्षदेखि घर परिवारबाट अलगिएर आफ्नै जग्गामा बनाएको टिनाको सानो घरमा एक्लै बस्दै आएका थिए भने छेउमा कबीर पन्थको प्रचारप्रसार गर्न केन्द्र (धार्मिक भवन) बनाउन लागेका थिए ।

घरभन्दा करिब १०–१५ मिटरको दुरीमा उनीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले बताए । उनकाअनुसार साहमाथि पछाडिबाट गोली प्रहार भएको हो । उनको नाइटो छेउमा गोली लागेको थियो । घटनास्थलबाट २ थान खोका पनि बरामद भएको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ ।

घटनाको सूक्ष्म अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय, जनकपुरधामबाट तालिम प्राप्त कुकुर झिकाइएको डीएसपी पुरीले बताए ।मृतक साहकी श्रीमतीको २० वर्षअघि नै मृत्यु भइसकेको छ भने जेठो पृथ्वीनारायण र सूर्यनारायण गरी दुई छोरा छन्।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully