जनकपुरमा शुक्रबार साँझ किन भयो प्रहरी र व्यवसायीबीच विवाद ?

सोनारपट्टीमा भन्सार छलीको सुनचाँदी बिक्री भइरहेको खबर पाएपछि राजस्व अनुसन्धान विभाग पथलैयासँग समन्वय गरेर छापा मार्न जाँदा विवाद भएको प्रहरीले जनाएको छ ।

कार्तिक १, २०८२

कमलेश ठाकुर

Why did a dispute occur between police and businessmen in Janakpur on Friday evening?

What you should know

जनकपुरधाम — शुक्रबार राति जनकपुरको सोनारपट्टीमा प्रहरी र व्यवसायीबीच झडप भएको छ । झडपमा १० प्रहरी र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।

घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ । अध्यक्ष भण्डारीका भाइ बलराम कुमार साहका अनुसार उनको अवस्था समान्य रहेको छ ।

जनकपुरको सोनारपट्टीमा भन्सार छलीको सुनचाँदी बिक्री भइरहेको खबर पाएपछि धनुषा प्रहरीले राजस्व अनुसन्धान विभाग पथलैयासँग समन्वय गरेर त्यहाँ छापा मार्न गएको डीएसपी गणेशबहादुर बलले बताए । उनका अनुसार जानकी मन्दिरको दक्षिणपट्टि सञ्जय ठाकुरले सञ्चालन गरेको ज्वेलर्समा सादा पोसाकमा प्रहरी पुगेका थिए । ज्वेलर्सबाट बिल बिजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद गरेर लग्न खोजेपछि सुनचाँदी व्यवसायीहरुले विवाद गर्न खोजेको उनको भनाइ छ ।

डीएसपी बमका अनुसार ७ किलो चाँदी बरामद गरी सुनचाँदी व्यवसायी संघका नेतृत्वलाई समेत बोलाएर मुचुल्का गर्न खोजेपछि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी आएर विवाद गरेपछि झडपको अवस्था आएको थियो । ‘उद्योग वाणिज्य संघको अध्यक्ष आएपछि लैजान नदिने अडान कसे,’ डीएसपीले बलमे भने, ‘उनीसहित व्यवसायीहरु प्रहरीमाथि आक्रमण गरेपछि झडप हुन पुगेको थियो ।’

बिल माग्दा नदेखाएको र अनुसन्धानका लागि लग्न खोज्दा विवाद गरेको उनको भनाइ छ । यता उद्योग वाणिज्य संघ जनकपुरका महासचिव फूलदेव पण्डितले धनतेरश तथा तिहारको पूर्वसन्ध्यामा प्रहरीले हक्काहाकी रकम मागेको र नदिँदा सुन चाँदी उठाएर लग्न खोज्दा विवाद भएको आरोप लगाए ।

उनका अनुसार पहिला ‘कारिगर’ काम गर्ने सञ्जय ठाकुरले भर्खरै नयाँ सुनचाँदी पसल खोलेका छन् । त्यहाँ ठाकुरले अरुको गहना पनि बनाउने गर्छन् । पसलमा सुरुमा एकजना प्रहरी सादा पोसाकमा पाउजु बनाउने बहानाले आएको र त्यहाँ रहेको सबै चाँदी दिन भनेपछि विवाद बढेको हो । चाँदी प्रहरीले लग्न खोजेपछि अवस्था बिग्रिएको महासचिव पण्डितको भनाइ छ । 'व्यवसायीहरु पुगेर धनतेरशको पूर्वसन्ध्यामा यसो किन गर्नुभयो भनेपछि प्रहरीले लाठीचार्ज गर्न थाले,' उनले भने । प्रहरीले त्यसपछि हवाइफायर र अश्रुग्यास पनि प्रहार गरेको उनले बताए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully