रौतहटमा खोलामा डुबेर दुई बालकको मृत्यु

शिव मन्दिरस्थित झाँझ खोलामा नुहाउन गएका बेला बालकहरू डुबेका हुन् ।

कार्तिक १, २०८२

शिव पुरी

Two children die after drowning in a river in Rautahat

रौतहट — रौतहटको गरुडास्थित  झाँझ खोलामा डुबेर शनिबार दुई बालकको मृत्यु भएको छ । गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा डुबेर देवाही गोनाही नगरपालिका–३ घर भई हाल शिवनगर बस्दै आएका सन्जीव साहका १० वर्षीय छोरा नीरज साह र राजकिशोर साहका १० वर्षीय अर्जुन साहको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिव मन्दिरस्थित झाँझ खोलामा नुहाउन गएका बेला बालकहरू डुबेका हुन् ।

स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित सञ्जीवनी अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकका हजुरबुवा बुधन साहले शव बुझेर लगेको प्रहरीले जनाएको छ ।

यसअघि घाँस काटेर गौर आउँदै गरेका राजदेवी नगरपालिकाका तीन बालिकाको पनि डुबेर मृत्यु भएको थियो । पछिल्लो समय रौतहटमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या बढेको छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully