कार्यालय पुनःनिर्माण भएपछि फर्किए सुरक्षाकर्मी

भवन अभावमा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीले नजिकैको जिल्ला ट्राफिक कार्यालयमा बसेर सेवा दिएका थिए ।

कार्तिक १, २०८२

शिव पुरी

Security personnel return after office reconstruction

रौतहट — रौतहटको चन्द्रपुरस्थित प्रहरी कार्यालयमा एक महिनापछि सुरक्षाकर्मी फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएपछि विस्थापित भएका प्रहरी भवन पुनःनिर्माण सम्पन्न भएपछि शनिबार कार्यालय फर्किएर कामकाज सुरु गरेका हुन् ।

स्थानीय व्यापारी, समाजसेवी, संचारकर्मी र युवाहरूको सक्रिय सहयोगमा पुनःनिर्माण भई औपचारिक रूपमा कार्यालय हस्तान्तरण गरिएको हो ।

आन्दोलनले ध्वस्त भएको भवन एक महिना लगाएर पुनःनिर्माण गरिएको छ । भवन अभावमा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीले नजिकैको जिल्ला ट्राफिक कार्यालयमा बसेर सेवा दिएका थिए । आफूहरूले गएको एक महिना निकै कष्टसँगले सेवाग्राहीको काम गरेको डीएसपी रूपा लाबुगले जानकारी दिइन् । 

भवन पुनःनिर्माणमा स्थानीय व्यापारी हर्क लामा र रूपेश जैसवालले सहकार्य गरेका थिए । संचारकर्मी, स्थानीय युवा पनि निर्माणमा जुटेका थिए ।

भवन पुनःनिर्माणमा सक्रिय जैसवालले खर्च विवरण सार्वजनिक गर्दै नगद ७ लाख २८ हजारसहित करिब ४ लाख बराबरको जिन्सी सामग्री सहयोग प्राप्त भएको बताए । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully