प्रमुख जिल्ला अधिकारीले प्रहरीले समन्वय नगरी छापा मारेको बताएका छन् । बरामद गरेको भनिएको चाँदी राजस्व अनुसन्धान विभागमा भने पठाइएको छैन ।
What you should know
जनकपुरधाम — धनुषा प्रहरीले कुनै पनि निकायसँग समन्वय नगरी सुनचाँदी पसलमा छापा मारेको खुलेको छ । राजस्व अनुसन्धान विभाग र राजस्व चुहावट समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी प्रहरीले शुक्रबार छापा मारेको पाइएको हो ।
धनुषाका डीएसपी गणेशबहादुर बमले राजस्व अनुसन्धान कार्यालय पथलैयासँग समन्वय र अनुमति लिएर छापामारी गरेको दाबी गर्दै आएका छन् । तर, राजस्व अनुसन्धान कार्यालय पथलैया प्रमुख हरि शर्माले बिनासमन्वय धनुषा प्रहरीले छापामारी गरेको कान्तिपुरकर्मीलाई प्रतिक्रिया दिए । सूचनाका विषयमा छलफल भए पनि आफूहरुको सहमतिबिना छापामारी भएको उनले बताए । ‘हिजो धनुषाका डीएसपी राजस्व छलीको सुनचाँदीको विषयमा सूचना दिनुभयो । शुक्रबार ४ बजेतिर हाम्रो कुराकानी पनि भयो । तर, मैले सूचनाको जाँच गरेर अपडेट गराउन भनेका थिए,’ उनले भने, ‘त्यसपछि हामीलाई कुनै जानकारी छैन । छापामारीको विषयमा हामीसँग समन्वय भएको छैन । हाम्रो प्रतिनिधि पनि कोही गएका छैनन् ।’
जिल्लास्तरमा राजस्व चुहावट समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुने भएको हुनाले त्यहाँबाट पनि समन्वय गरेर छापामारी गर्न सक्ने उनले बताए । तर, धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले छापामारीको विषयमा अनविज्ञ रहेको बताए । अधिकारीक जानकारी नआएर छापामारी गरेको उनको भनाइ छ । ‘मलाई जानकारी नगराई छापामारी गरेको छ,’ प्रमुख जिल्ला अधिकारी आर्चायले भने, ‘छापा मारेको विषय अन्य निकायबाट थाह भयो । तर, प्रहरीले समन्वय नगरी छापा मारको छ ।’
सुनचाँदी व्यवसायी महासंघको मधेश प्रदेश महासचिव मनिष रमनले प्रहरीले छापा मार्न भन्दै लुट्न आएको आरोप लगाए । ‘डीएसपीको नेतृत्वमा केही घुमुवाले सात किल्लो चाँदी व्यवसायीको लुटेर लगेका छन्,’ उनले भने, ‘न उनीहरुसँग सर्च वारेन्ट छ, न राजस्व अनुसन्धान विभागको प्रतिनिधि छ । अनी कसरी छापामारी भयो ?’ अन्तिममा उद्योग वाणिज्य संघ र सुनचाँदी व्यवसायीले मुचुल्का गरेर लग्नभन्दा पनि बिना मुचुल्का/कागजात गरी लग्ने प्रहरी नभई लुटेरा भएको उनको भनाए छ ।
धनुषाका डीएसपी गणेशबहादुर बमले सबैलाई जानकारी गराएरै नै छापामारी गरेको बताए । ‘मैले सबै निकायलाई जानकारी गराएको छु,’ डीएसपी बमले भने, ‘मैले कानुनअनुसार काम गरेको छु ।’ मुचुल्का नगरी चाँदी लगिएको विषयमा उनले दुवै पक्षको सहमतिमै मुचुल्का गरिएको तर विवाद बढ्दै गएपछि हस्ताक्षर छुटेको हुन सक्ने उनले बताए । अहिलेसम्म बरामद गरिएको चाँदी राजस्व अनुसन्धान विभागमा भने पठाइएको छैन ।
