अध्यक्ष पदका प्रत्यासी योगेन्द्रराय यादवले विधान विपरीत प्रतिनिधि छनोट र मनोनयन गरिएको हुनाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशनमा विवाद उत्पन्न भएको छ । जनकपुरधाममा जारी प्रदेश अधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।
अध्यक्ष पदका प्रत्यासी योगेन्द्रराय यादवले विधान विपरीत प्रतिनिधि छनोट र मनोनयन गरिएको हुनाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । विधान विपरीतको ८० जना प्रतिनिधि राखिएको उनको आरोप छ । सर्लाहीको प्रतिनिधि छनोट र प्रदेशबाट मनोनयन गरिने पाँच प्रतिशत प्रतिनिधिमा वर्तमान प्रदेश अध्यक्ष बालकिशोरप्रसाद यादव पक्षले धांधली गरेको उनको गुनासो छ । बुधबार दिनभरि प्रतिनिधि विवादमा अल्झिएको थियो । तर, विवाद समाधान नभएपछि निर्वाचन कर्मकाण्डी रुपमा अगाडि बढाइएको उनले तर्क गरे ।
सोही कारण आपत्ति जनाउँदै निर्वाचन बहिष्कार गरेको उनले बताए । चुनाव स्थगित गरी विवाद समाधान गरी छठपछि निर्वाचन प्रकृया अगाडि बढाउन उनले माग गरेका थिए । राय पक्षमा पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, केन्द्रीय सदस्यहरु सञ्जय यादव, रामबाबुप्रसाद यादव, अनिरुद्धप्रसाद सिंह, जिल्ला अध्यक्षहरुमा सप्तरीका केदार यादव, धनुषाका पशुपति यादव, रौतहटका राजिव रञ्जन यादव, बाराका रमेश यादवसहितको सर्मथन छ ।
यता, मधेश प्रदेशको पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले सर्वसहमतीबाट प्रदेश समिति चयन हुने गृहकार्य भइरहेको बताए । अध्यक्ष पदका प्रत्यासी तथा वर्तमान अध्यक्ष बालकिशोरप्रसाद यादवले भने अधिवेशनको विषयमा अहिले कुनै पनि प्रतिक्रिया नदिने बताए ।
