हिरासतबाट भागेका यादव चोरी गर्दा-गर्दै पक्राउ

प्रहरीले सिरहाको विष्णुपुर नगरपालिका–३ का २१ वर्षीय अमन यादवलाई पक्राउ गरेको हो।

आश्विन २९, २०८२

विद्यानन्द राम

Yadav, who escaped from custody, was arrested while stealing

राजविराज — जेन–जी आन्दोलनमा प्रहरी वृत्त थानकोट, काठमाडौंको हिरासतबाट भागेका एक युवक सप्तरीबाट स्कर्पियो चोरी गर्दागर्दै पक्राउ परेका छन् ।

प्रहरीले सिरहाको विष्णुपुर नगरपालिका–३ का २१ वर्षीय अमन यादवलाई पक्राउ गरेको हो।

उनी गत भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थिए । लागुऔषध (ब्राउन सुगर) कारोबार मुद्दामा पक्राउ परेका यादव हिरासतबाट भागेपछि खोजतलास भइरहेको थियो । सोही क्रममा उनी गत सोमबार एकाबिहानै जिल्लाको रुपनी गाउँपालिका–६ विरेन्द्र बजारबाट स्कर्पियो चोरी गर्दागर्दै पक्राउ परेका हुन् ।

स्थानीय विनय भगतको घर अगाडि पार्किङ्ग गरिएको स १ च ७१३ नम्बरको स्कर्पियोको झ्याल फुटाएर उनले स्करर्पियो ‘स्टार्ट’ गर्न खोलेका थिए । तर, स्कर्पियोको ब्याट्री चार्ज नभएर ‘स्टार्ट’मा समस्या देखिएपछि नजिकै पार्किङ्ग गरिएको पिकअपबाट ब्याट्री झिकेर ‘स्टार्ट’ गर्नै लाग्दा स्थानीयले यादव र उनका भाइ सुमनलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

पक्राउ परेका यादवमाथि आवश्यक कारबाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले बताए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully