पर्सामा तीन दिनमा १ लाख ८८ हजार बढीले लिए हैजाविरुद्धको खोप

कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५२ हजार १ सय २९ जनालाई इयूभिकोल–एस खोप लगाइनेछ ।

आश्विन ३०, २०८२

शंकर आचार्य

Over 188,000 people receive cholera vaccination in Parsa in three days

What you should know

पर्सा — अभियान सञ्चालन गरिएको तीन दिनमा पर्सामा १ लाख ८८ हजार बढीले हैजाविरुद्धको खोप लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार आइतबारदेखि मंगलबारसम्ममा गरी १ लाख ८८ हजार ५ सय १६ जनाले खोप लिइसकेका छन् ।

हाल वडास्तरबाट तथा विद्यालयहरूमा समेत यो अभियानलाई तीव्रता दिइएको छ । विद्यालयहरूमा तिहार र छठ पर्वको बिदा हुनुअघि अभियान सम्पन्न गर्ने लक्ष्य छ । सहरी क्षेत्रका सर्वसाधारणले व्यस्तताले खोप लिन नपाइरहेको अवस्थामा ग्रामीण भेगमा भने अधिकांशले खोप लिएको उनले बताए ।

पर्सामा आइतबारदेखि  हैजाविरुद्धको खोप अभियान सुरु गरिएको हो । एक वर्षमाथिका सबैले खोप लिन सक्छन् । पर्साका १४ वटै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको छ । छिमेकी बाराका १६ पालिकामध्ये कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गरी वीरगन्ज महानगरपालिकासँग जोडिएका पालिकाहरूमा यो अभियान चलाइँदैछ ।

वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आईसीजीसँग खोपको माग गरेको थियो ।  परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको प्राविधिक सहयोगमा दुई जिल्लामा यो अभियान सञ्चालन गरिएको हो ।

इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुन्छ । गत भदौ ६ गतेदेखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।  

कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५२ हजार १ सय २९ जनालाई इयूभिकोल–एस खोप लगाइनेछ । अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ पालिकामा १ हजार ९ सय ५० खोप केन्द्र स्थापना गरिएको छ । केन्द्रहरूमा स्थानीय पालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, सामुदायिक र निजी विद्यालय, कलेज, सरकारी कार्यालय, गैरसरकारी संस्था, मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल–भारत सीमा नाका र उद्योग कलकारखाना समावेश छन् । अभियानमा  १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको छ । पर्सा र बाराका लागि १० लाख १८ हजार १ सय डोज खोप ल्याइएको छ ।  

भदौ ६ गते वीरगन्जमा पहिलो पटक तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म वीरगन्ज महानगरमा १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जका विभिन्न अस्पतालमा उपचारार्थ आएकामा तीमध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ । यसबाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हालसम्म गरिएका परीक्षणहरूबाट वीरगन्जका विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाका जीवाणु फेला परेका छैनन् । डेढ महिना बितिसक्दा पनि सङ्क्रमणको स्रोत पत्ता लाग्न सकेको छैन ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully