भदौ २४ को आन्दोलनका क्रममा महानगर भवनसहित सम्पूर्ण फर्निचर, कागजात, सूचना–प्रविधि उपकरणलगायतका सामग्री जलेर नष्ट भएका थिए ।
पर्सा — जेन-जी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगन्ज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहज बनाउन नेपाल औषधि उत्पादक संघ, वीरगन्ज इकाईले बुधबार दस थान कम्प्युटर सेट (युपिएस सहित) र चार थान प्रिन्टर हस्तान्तरण गरेको छ ।
भदौ २४ को आन्दोलनका क्रममा महानगर भवनसहित सम्पूर्ण फर्निचर, कागजात, सूचना–प्रविधि उपकरणलगायतका सामग्री जलेर नष्ट भएका थिए । उक्त घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले असहज अवस्थाको समयमा औषधि उत्पादक संघले गरेको सहयोग महानगरको पुनःसञ्चालनका लागि अत्यन्तै उपयोगी भएको बताए । उनले महानगरको दैनिक कामकाजलाई सहज बनाउन संघले पुर्याएको सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताए ।
त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन परिस्थितिमा पनि नगरको पुनःनिर्माणमा साथ दिन पाउनु गौरवको विषय भएको बताए ।
