पीडित परिवार भन्छन् – 'मुद्दामा चलखेल भयो, अब हामी अझै अपमान र त्रास सहेर बाँच्न सक्दैनौं'
What you should know
सिरहा — सिरहाको कल्याणपुर नगरपालिका-८ अरङस्थित पोखरीको डिलमा बस्दै आएका दलित परिवारको घर तोडफोड घटनामा पक्राउ परेका वडाध्यक्ष अनुसन्धान नसकिँदै रिहा भएका छन् । वडाध्यक्ष रामकिशोर यादवलाई प्रहरीले सरकारी वकिलको अनुमतिमा सोमबार साँझ रिहा गरेको हो ।
अरङमा गत असोज १७ गते दिउँसो स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवान गरी पाँच जनाको घरमा ५० जनाभन्दा बढीको समूहले विस्थापित हुने गरी तोडफोड र लुटपाट गरेका थिए ।
यो घटनामा कांग्रेसबाट उक्त वडामा निर्वाचित वडाध्यक्ष यादव, स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मनोज यादव, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत १३ जनाविरुद्ध आपराधिक उपद्रव शीर्षकमा इलाका प्रहरी कार्यालय, मिर्चैयामा किटानी जाहेरी दर्ता भएको थियो ।
जसमध्ये वडाध्यक्ष यादवसहित गणेश र कैलाश घटनाको भोलिपल्टै असोज १८ मा पक्राउ परेका थिए भने मनोजलाई प्रहरीले असोज २० मा पक्राउ गरेको थियो । यो मुद्दामा आरोपितलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान छ ।
तर, वडाध्यक्ष यादवलाई भने अनुसन्धान पूरा नहुँदै १० दिनमै छाडिएको हो । वडाध्यक्ष यादव हिरासतभित्रै बिरामी परेपछि उनलाई बाहिरै राखेर अनुसन्धान गर्न मिल्ने गरी जिल्ला सरकारी वकिलको कार्यालय, सिरहाको अनुमतिमा रिहा गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले दाबी गरे ।
प्रहरीका अनुसार, असोज २५ गते दिउँसो अचानक उनको छाती दुख्न थालेपछि मिर्चैयाकै एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उपचार चलिरहेकै कारण सोमबार नातामा भतिज पर्ने स्थानीय अमरकुमार यादवको हाजिरी जमानीमा वडाध्यक्षलाई रिहा गरिएको प्रहरीको दाबी छ ।
'अहिले बिरामी परेर सरकारी वकिलको अनुमतिमा उहाँलाई छाडेका हौं, घटनाको अनुसन्धानको काम चलिरहेकै छ,' एसपी शर्माले कान्तिपुरसित भने, 'स्वास्थ्य स्थिति ठीक भयो र अनुसन्धानमा ल्याउनुपर्ने देखियो भने उहाँलाई हामीले बोलाउँछौं ।'
तर, कुनै पनि घटनामा संलग्नताको आरोपसहित अनुसन्धानका लागि हिरासतमा रहेका व्यक्ति बिरामी परेको खण्डमा प्रहरीकै निगरानीमा उपचार गराउने र उपचारपछि फेरि हिरासतमै फर्काउने अभ्यास छ नि ? भन्ने कान्तिपुरको प्रश्नमा जिल्ला न्यायाधिवक्ता राजेन्द्रबहादुर बस्नेतले प्रहरीले छाड्न अनुमति मागेकोले आफूहरूले दिएको दाबी गरे ।
यद्यपि, अनुसन्धान र कानुनी कारबाही प्रक्रियामा संलग्न सरकारी निकायले यस्तो दाबी गरे पनि वडाध्यक्ष यादव छुटेलगत्तै खुलेआम घुमिरहेको पाइएको छ । उनी मंगलबार दिनभर सार्वजनिक स्थानहरूमा घुमिरहेको देखिएको पीडित परिवारले बताएका छन् ।
यस्तै, यस घटनाका अन्य आरोपितलाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । पीडित परिवारले यो मुद्दामा राजनीतिक तथा आर्थिक चलखेल भएको र यसै कारण दोषीलाई उन्मुक्ति दिने काम भइरहेको आरोप लगाएका छन् ।
'मुद्दामा चलखेल भयो, वडाध्यक्ष छुटेपछि अब केही हुँदैन भनेर दम्भ देखाउँदै हिँड्दैछन्', पीडित सोभित पासवानले भने, 'हामी अझै अपमान र त्रास सहेर बाँच्न सक्दैनौं, आन्दोलनका लागि छलफल गरिरहेका छौं ।'
पीडित परिवारका अनुसार, वडाध्यक्ष यादवले यो घटनामा विपक्षीहरूलाई उक्साउने काम गरेका थिए । असोज ५ मा वडाध्यक्ष यादवले कल्याणपुर नगरपालिकालाई दलित समुदाय बस्दै आएको जग्गा सार्वजनिक भएको र उक्त जग्गा खाली गराइदिन लेखेको पत्र पनि पीडित परिवारले प्रहरीलाई उपलब्ध गराएका छन् ।
तर, आफूहरू दलित र सुकुम्बासी भएका कारण नगरपालिकाले पत्र कार्यान्वयन नगरेपछि वडाध्यक्ष यादवले राजनीतिक प्रतिशोधका कारण घर तोडफोड गर्ने विपक्षीहरूको योजनामा सघाएको पीडितको आरोप छ ।
