पत्रकार हुँ भन्दै गालीगलौज गरेको आरोपमा अभद्र व्यवहारको मुद्दा

आफूलाई समेत फोनमा गालीगलौज गर्दै अभद्र व्यवहार गरेका मनोज महतोलाई नियन्त्रणमा लिइ मुद्दा दर्ता गरेको डीएसपी डम्बरबहादुर पुरीले बताए ।

आश्विन २८, २०८२

विद्यानन्द राम

A case of indecent behavior on the allegation that he was a journalist

राजविराज — सप्तरीमा प्रहरीलाई गालीगलौज गरेको आरोपमा एक जनामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ । पत्रकार हुँ भन्दै डीएसपीसम्मैलाई फोन गरेर  गालीगलौज गरेको आरोपमा सिरहाको लहान नगरपालिका-२४ घर भइ काठमाडौंको कीर्तिपुर नगरपालिका–२ बस्ने ३८ वर्षीय मनोज मानव भनिने मनोज महतोमाथि मुद्दा चलाइएको हो ।

जिल्लाको राजविराज नगरपालिका–५ बाट सोमबार नियन्त्रणमा लिइएको महतोलाई मंगलबार अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप लिएर अनुसन्धान भइरहेको डीएसपी डम्बरबहादुर पुरीले बताए । उनका अनुसार सोमबारै महतोले १०० नम्बरमा फोन गरेर पत्रकार हुँ भन्दै ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज र अपशब्द प्रयोग गर्दै आफ्नो नम्बर मागेका थिए ।

आफूलाई समेत फोनमा गालीगलौज गर्दै अभद्र व्यवहार गरेका महतोलाई नियन्त्रणमा लिइ मुद्दा दर्ता गरेको डीएसपी पुरीले बताए । महतोलाई यसअघि पनि विद्युतीय कारोबारसम्बन्धी कसूरमा दुईपटक पक्राउ तथा कारबाही भइसकेको छ भने महतोमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट पनि अभद्र व्यवहार र ज्यानसम्बन्धी कसूर, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर तथा इलाका प्रहरी कार्यालय लहानबाट केही सार्वजनिक अपराध मुद्दामा पक्राउ तथा कारबाही भइसकेको डीएसपी पुरीको भनाइ छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully